कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत मागे
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।
संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उनले विश्वासको मत मागे । सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ ।
विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन-कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन ।
कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ । यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले जनाएको छ ।













