प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिए
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।पुल्चोकस्थित उपप्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री दाहालले बुधबार स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।
भेटघाटका क्रममा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका बेला यही कार्तिक १ मा उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार बिहान नेपाल फर्किएका हुन् ।













