"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

प्रकाशित मिति :  8 November, 2023 2:58 pm


काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरु भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । जाजरकोट भूकम्पपछि कांग्रेसले गठन गरेको उद्धार, राहत र पुनःस्थापनाको अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ । समितिको संयोजकमा दुई महामन्त्री छन् । भूकम्प प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारलाई मंगलबार २१ बुँदे सुझाव दिएका नेताहरु बुधबार स्थलगत अवलोकन र अनुगमनका लागि प्रभावित क्षेत्र हिँडेका हुन् ।

कांग्रेसले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५० लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ भने देशभरिका कार्यक्रमहरु स्थगित गरेर नेता कार्यकर्तालाई राहत र उद्धारमा परिचालित हुन निर्देशन गरेको छ । शुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले प्रभावित क्षेत्रहरुमा चिकित्सक र औषधि पुर्‍याउने काम गरिरहेको छ भने अन्य भ्रातृ संस्थाहरु पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छन् ।

बुधबार प्रभावित क्षेत्र पुग्ने महामन्त्रीद्वय थापा र शर्मा भने मुलत: सात वटा विषयहरुमा केन्द्रीत भएर काम गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार महामन्त्रीद्वयले उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भएपनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको समाचार आइरहेकोमा कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यानाकर्षण र सहजीकरण गर्नेछन् ।

त्यस्तै, संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरुबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन भन्नेबारे जानकारी लिएर थप सहजीकरण र समन्वय गर्नेछन् ।

‘उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण उहाँहरुले गर्नुहुन्छ,’ मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘उद्धार र राहतका क्रममा कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरुको अध्ययन गर्नुहुन्छ ।’

महामन्त्रीद्वयसहितको टोलीले घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थितिलाई ध्यानमा राखेर अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने उनले बताए ।

त्यस्तै, सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्ने, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्थानीय सरोकारवालासँग छलफल र परामर्श गर्ने काम पनि कांग्रेसको अनुगमन टोलीले गर्नेछ । कांग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भूकम्पबाट प्रभावित क्षेत्रमा राहत उद्धार र पुनःस्थापनका लागि कार्य गर्दा अल्पकालीन र दीर्घकालीनरुपमा विभिन्न संयमताहरु अपनाउनुपर्ने सुझाव दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा