भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयम सेवक परिचालन गर्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार, एमाले स्वयमसेवकले पाँच हजार कार्य दिनमा एक करोड बढीको काम गर्नेछन् ।
स्वयम सेवक परिचालनको संयोजन कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले निर्णय गरेको छ । बैठकले भूकम्प पीडितहरुका लागि संकलित राहत सामग्री प्रभावकारी वितरण गर्न सरकारसँग माग राखेको छ । ‘राहत संकलन भएर प्रभावकारी वितरण नभएको, राजनीतिकरण भएको र त्यहाँ विपद् पर्यटन जस्तो देखिएकाले सरकारको गम्भीर गम्भीर ध्यानाकर्षण गराएका छौं’, ज्ञवालीले भने ।
आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।
उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।













