"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

प्रकाशित मिति :  4 March, 2022 7:44 am


काठमाडौं । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी अस्तित्वमा छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले फागुन १७ गते सचिवालय बैठक बसेर चुनावी रणनीति तय गरेको छ । एमालेको चुनावी रणनीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा इन्चार्ज तथा सहइन्चार्जका साथै विभिन्न विभाग गठन गरेको छ । एमालेले विसं २०७४ मा भएको निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको थियो । गृहजिल्ला भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा पहिलेको तुलनामा यो स्थानीय चुनावमा दुईवटा स्थानीय तहमा थप जित हात पार्ने दाबी गरेका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गत शनिबार एकैचोटि जिल्लाका १०वटै स्थानीय तहमा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको थियो । अभिमुखीकरण कार्यक्रमको अनुगमनमा जिल्ला तथा प्रदेशस्तरका नेता खटिनुभएको थियो । जिल्ला सभापति विष्णुकुमार राई, पूर्वपर्यटनमन्त्री सर्वधन राई, पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठलगायत नेता निर्वाचनलाई लक्षित गरेर भूगोलमा खटिनुभएको छ । चुनावलक्षित पालिकास्तरीय कार्यक्रममा पालिकास्तरकै नेताहरू जुटेका छन् ।

अघिल्लो निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये चारवटामा कांग्रेसले जितेको थियो । अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न कांग्रेस लागिपरेको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी तयारी थालेको छ । अघिल्लो निर्वाचनमा एउटा स्थानीय तहमा मात्र जित हात पारेको माओवादी केन्द्रका केन्द्रीय नेता गाउँ पसेका छन् ।

माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, दुर्गाजयन्ती राईलगायत नेता दौडधुपमा छन् । सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी सङ्गठन निर्माण तथा चुनावी अभियानमा लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कार्कीले बताए । माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा सङ्गठन विस्तारसँगै जनवर्गीय सङ्गठन पुनःगठन गरेको छ । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक स्थानीय तहमा १५० सदस्यीय वाइसीएल नेपालको पालिकास्तरीय समिति बनाइएको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)  पनि निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुटेको केन्द्रीय सदस्य कुलप्रसाद फुँयालले बताए । आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरू दलसँग मिलेर चुनाव लड्ने योजना रहेको पूर्व सांसदसमेत रहेका केन्द्रीय सदस्य फुँयालले बताए ।

एकीकृत समाजवादीले जिल्लाका १० मध्ये नौ स्थानीय तहमा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गरिरहेको छ । रावाबेँसी गाउँपालिकामा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गर्न बाँकी रहेको र उक्त स्थानीय तहमा चाँडै स्थापना गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष जलशेर राईले बताए ।

जनता समाजवादी पार्टी पनि सङ्गठन विस्तारमा जुटेको छ । देशमा चौथो दलको अस्तित्वमा रहेको जनता समाजवादी पार्टी जिल्लामा चुनावी तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात

काठमाडौँ — हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय