"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानिय चुनाव देखि नै ‘राइट टु रिजेक्ट’को व्यवस्था कायम गर्न बहस

प्रकाशित मिति :  २२ फाल्गुन २०७८, आईतवार १४:३३


काठमाडौं (बर्षा झा)। स्थानीय तहको चुनाव वैशाख ३० मा गर्ने निश्चित भएयता चुनावी सरगर्मी बढेको छ । नेपालको संविधान–२०७२ ले तीन तहका सरकारको परिकल्पना गरेको छ । केन्द्रमा संघीय सरकार, सात प्रदेशमा प्रदेश सरकार, ७५३ स्थानीय तहमा स्थानीय सरकारको संवैधानिक व्यवस्था छ । यसै अनुरूप २०७४ सालमा तीनै तहमा चुनाव भई ती सरकारहरूको पाँचवर्षे कार्यकाल पनि समाप्तिको नजिक पुग्दै छ ।

७५३ स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि २०७९ जेठ ५ गते समाप्त हुँदै छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ३ अनुसार, स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि समाप्त हुनुभन्दा दुई महिनापहिले निर्वाचन कार्यक्रम तथा निर्वाचन प्रणाली सुरु गरिसक्नुपर्छ । चुनाव गराउने जिम्मेवारी संविधानले निर्वाचन आयोगलाई तोकेको छ । तर निर्वाचन आयोगको चुनावी तयारीमा भने सर्वोच्च अदालतको फैसलाको अवमूल्यन भएको छ ।

सर्वोच्च अदालतले २०७० पुस २१ मा विकास लकाई खड्कासमेत विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुद्दामा अनिवार्य रूपमा निर्वाचन सम्बन्धी कानुनमा ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो (नेकाप, २०७०, अंक १०, नि.नं. ९०६९)। तर सो आदेश बमोजिम हालसम्म निर्वाचन सम्बन्धी ऐन–नियममा आवश्यक संशोधन र कार्यविधि नबन्नु र निर्वाचन आयोगले त्यस्तो अग्रसरता नदेखाउनु दुःखद छ ।

संविधानको धारा १२८(४) बमोजिम सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्छ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्यायसम्पादनमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्छ ।

अदालती आदेश अनुसार सरकारले निर्वाचन सम्बन्धी कानुनमा यो व्यवस्था राखेको भए मतदाताले कसैलार्ई पनि मत नदिई सबैलार्ई बहिष्कार गर्न पाउने नेपाल विश्वको पन्ध्रौं मुलुक बन्ने थियो । तर सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुने गरी नेपालमा मतदाताले उम्मेदवारलार्ई मत दिनैपर्ने बाध्यात्मक अवस्था छ । प्रचलित निर्वाचन आयोग ऐन–२०७३ ले ‘राइट टु रिजेक्ट’ को अधिकार राखेको छैन । प्रजातन्त्रको आवरणमा ‘सबै कमसलमध्ये कम कमसल’ रोज्ने प्रणालीलाई चिरकालसम्म पछ्याइरहनु आवश्यक छैन । जबसम्म नागरिकले मतमार्फत आफ्नो इच्छा व्यक्त गर्न पाउने अवस्था बन्दैन तबसम्म मतदान गर्ने अधिकार नागरिकमा निहित हुनु वा नहुनुले तात्त्विक अर्थ राख्दैन र चुनाव परिणाममा नागरिकको इच्छा पूर्ण रूपले प्रतिविम्बित पनि हुँदैन ।

राजनीतिक दलले उठाएका उम्मेदवारलाई छनोट गर्न पाउने अधिकार नागरिकमा हुन्छ भने अस्वीकार गर्न पाउने हक पनि हुनुपर्छ । मतदान गर्न नगएको विषयका सम्बन्धमा नागरिकको गोपनीयताको अधिकारको रक्षार्थ उम्मेदवारलाई मन नपराएको कारण मतदान गर्न नजाने अवस्था आउन नदिन पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवारलाई मत दिन्नँ’ भन्ने व्यवस्था गर्नु आवश्यक हुन्छ ।

नेपालको संविधानको प्रस्तावना, नागरिक अधिकार ऐन–२०१२ को दफा ३, मानव अधिकारको विश्वव्यापी घोषणापत्रका धारा १९ र २१(३) एवं नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र–१९६६ को धारा १ ले अभिमतको अधिकारलाई सुनिश्चित गरेका छन् । बेलायती दार्शनिक जोन स्टुवार्ट मिलले भनेका छन्, ‘समाजमा बहुमतको मात्र नभएर अल्पमतमा भएका व्यक्तिहरूको विचारलाई पनि त्यत्तिकै महत्त्वका साथ लिनुपर्छ ।’

मानव अधिकारको विश्वव्यापी घोषणापत्र–१९४८ को धारा १९ ले हरेक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । धारा २१(३) मा निर्वाचनमार्फत व्यक्त हुने नागरिकको इच्छा नै सरकारको आधिकारिकताको आधार हुने उल्लेख छ । यसबाहेक नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र–१९६६ को धारा १९(२) मा हरेक व्यक्तिलाई अभिव्यक्तिको स्वतन्त्रता हुनेछ जस अन्तर्गत सबै किसिमका जानकारी वा विचारलाई खोज्न, प्राप्त गर्न वा अभिव्यक्त गर्ने अधिकार हुन्छ भनिएको छ । धारा २५ मा हरेक नागरिकलाई सार्वजनिक चासोबारे आफैं वा स्वतन्त्र रूपले छनोट गरिएका आफ्ना प्रतिनिधिमार्फत भाग लिन एवं बालिग मताधिकारको प्रयोग गरी आफ्नो इच्छा अभिव्यक्तिको प्रत्याभूति गर्ने स्वच्छ आवधिक निर्वाचनहरूमा मतदान गर्नबाट वञ्चित नगरिने उल्लेख छ ।

भारतको सर्वोच्च अदालतले लिली थोमसविरुद्ध लोकसभा (सन् १९९३, ४, एससीसी २३४) को मुद्दामा नागरिकको इच्छा उजागर गर्ने माध्यम उनीहरूको मत नै हुने भनेको छ । स्वाभाविकै रूपमा राजनीतिक वा अन्य प्रयोजनका लागि कुनै विषय वा व्यक्तिको छनोट गर्नुपर्दा विकल्पहरूबीच प्राथमिकता तोक्ने काम हुने गर्छ । कुनै एउटा मात्रै दल वा एउटा मात्र उम्मेदवार भएको वा रहेको चुनावमा मतदान गर्नुको खासै अर्थ रहँदैन । उपयुक्त उम्मेदवार दिने दायित्व राजनीतिक दलहरूको पनि हो । उम्मेदवार थोपर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । भारतको सर्वोच्च अदालतले इन्दिरा गान्धीविरुद्ध राज नारायण (सन् १९७५, एससीसी १९८) को मुद्दामा नागरिकलाई उनीहरूले छनोट गरेको उम्मेदवारलाई मत दिन स्वतन्त्र भएमा मात्र त्यस्तो निर्वाचनबाट प्रजातन्त्रले राम्ररी काम गर्न सक्छ भनेको छ ।

सुरुमै उल्लेख गरिएको विकास लकाई खड्का सम्बन्धी आठ वर्षअघिको उक्त मुद्दामा सर्वोच्च अदालतले ‘अब हुने संसदीय वा स्थानीय स्वायत्त शासन ऐन अन्तर्गतका निकायहरू सम्बन्धी निर्वाचनहरूमा कायम भएका उम्मेदवारहरूमध्ये कसैप्रति पनि समर्थन छैन भनी मत जाहेर गर्ने कुरालाई पनि स्थान दिई … सो अनुरूप मतपत्र ढाँचामा समेत समावेश गरी निर्वाचन सञ्चालन गर्ने प्रयोजनका लागि कानुनी एवं उपयुक्त कुराको व्यवस्था गर्न’ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, निर्वाचन आयोग लगायत विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश दिएको थियो । तर पनि आउँदो स्थानीय तहको चुनावमा ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न कुनै प्रबन्ध नगर्नु कानुनी राज्यको उपहास हो । सर्वोच्च अदालतको फैसलालाई अवमूल्यन गरेर विधिको शासन, कानुनी राज्य, सुशासन कायम गर्न सकिँदैन । राजनीतिक दलहरू जिम्मेवार र गम्भीर बन्नुपर्छ ।

  • कान्तिपुरमा प्रकाशीत बर्षा झाको लेख, झा अधिवक्ता हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ ।  न्यायाधीश विनोद शर्माको इजलासले

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताएका छन्।

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । समितिका जेष्ठ सदस्य

काठमाडौँ – कानुन निर्माणको मुख्य जिम्मेवारी भएको प्रतिनिधि सभामा १६ वटा कानुन अड्किएका छन्। प्रतिनिधि सभाका समितिहरूमा १५ वटा र एउटा