"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री

प्रकाशित मिति :  22 December, 2023 11:43 am


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् । शुक्रबार सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताएका हुन् । 

बिजुली बेचेर विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन् ।’

प्रधानमन्त्री दाहालले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए । उनले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपतवृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्‍बाट पारित गरेको स्पष्ट पारे। यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए । ‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो । नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युत्को अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ । यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ,’ उनले भने ।

करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटन गरिएको हो । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने प्राधिकरणले जनाएको छ । यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको प्रधानमन्त्री दाहालले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको