"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू १९ क्रिकेट विश्वकप आजदेखि सुरु हुँदै, नेपाल आइतबार न्युजिल्याण्डसँग खेल्ने

प्रकाशित मिति :  19 January, 2024 11:24 am


काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।

विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ । यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा आज दुई खेल हुँदैछ । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ । नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल आउने आइतबार न्युजिल्याण्डसँग खेल्नेछ । यू १९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् । यस्तै समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् ।

प्रतियोगिताको फर्म्याट परिवर्तन

यस पटक प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरिएको छ । सुरुमा लिग चरणको खेल हुनेछ र हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । समूह चरण पार गर्ने १२ टोलीलाई सुपर सिक्स चरणमा दुई समूहमा विभाजन गरिनेछ । जहाँ समूह ‘ए’ र समूह ‘डी’ का ३–३ टिम सुपर सिक्समा एक समूहमा हुनेछन् भने समूह ‘बी’ र समूह ‘सी’ का ३–३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछन् ।

समूह चरणमै खेलिसकेको टिम विरुद्ध सुपर सिक्समा खेल्नुपर्ने छैन । तर आफ्नै समूहबाट सुपर सिक्समा पुगेका टिमसँगको खेलको नतिजा भने गणना हुनेछ । सुपर सिक्सको दुई समूहको शीर्ष २–२ टोली सेमिफाइनल पुग्नेछन् ।

यस पटक यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने आईसीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार