यू-१९ विश्वकप : आज नेपाल पाकिस्तानसँग खेल्दै
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । उता पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।
आज नेपालको परीक्षा तीव्र गतिका बलरसँग हुन्छ । गत डिसेम्बरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिएपछि नेपाल १५२ रनमै अल आउट भएको थियो । अग्ला कदका जिशानको बाउन्स र सट बलमा नेपाल फसेको थियो । उक्त खेलमा उबेद शाहले १ र अमिर हसनले २ विकेट लिएका थिए ।
विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा पाकिस्तानलाई हराएको थियो । २०१६ मा भने पराजित भएको थियो । २००० मा वर्षाको कारण खेल भएको थिएन । यू-१९ एसिया कपमा नेपाल पाकिस्तानसँग तीनै खेलमा हारेको छ ।













