यू-१९ विश्वकप : बाकी दुई खेल नखेल्दै सुपर सिक्सबाट बाहिरियो नेपाल
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।
सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।
तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् ।
सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।
नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए । आजको जितले ६–६ अंकमा पुग्दै सेमिफाइनल अनौपचारिकता बाँकी राखेका छन् ।













