"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली प्रदेशको राजधानी जोड्ने सडक कालोपत्रे भएन

प्रकाशित मिति :  २६ फाल्गुन २०७८, बिहीबार १२:५७


काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने खलंगा–जयतपानी–बालुवासंग्रही सडक कालोपत्रमा ठेकेदारले ढिलाइ गरेका छन् । कर्णाली प्रदेश सरकारले बहुवर्षीय ठेक्काअन्तर्गत २० करोड र सडक डिभिजन कार्यालय दाङले डेढ करोड रुपैयाँ विनियोजन गरी २ वर्षअघि कालोपत्र सुरु भएको थियो । तर ठेकेदारको ढिलासुस्तीले अझै सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन ।

सडकलाई ३ खण्डमा विभाजन गरी कालोपत्रको काम सुरु गरिएको थियो । प्रदेश सरकारको बजेटअन्तर्गत बालुवासंग्रहीदेखि ढोरपिपलसम्म २ र ढोरपिपलदेखि बाबियाचौरसम्म ११ गरी १३ किलोमिटर सडकको स्तरोन्नति गर्न थालिएको छ । तर गाल्वा निर्माण सेवा धुलिखेलले काममा ढिलाइ गर्दा यात्रुहरू वर्षामा हिलाम्मे र हिउँदमा धूलाम्मे यात्रा गर्न बाध्य छन् ।

त्यस्तै, सडक डिभिजन कार्यालयले विनियोजन गरेको डेढ करोड रुपैयाँबाट बाबियाचौरदेखि ज्यामिरेसम्म २ किलोमिटर कालोपत्रे गर्ने जिम्मा प्राकृतिक/निसान जेभीलाई दिइएको छ । सदरमुकाम खलंगादेखि बाबियाचौरसम्म ३३ किलोमिटर रहेको सडक २ वर्षअघि १८ किलोमिटर ओटासिल पिच भइसकेको छ ।

सडकमा १५ किलोमिटर स्तरवृद्धि तथा कालोपत्रे गर्न बाँकी थियो । प्रदेश राजधानी आउजाउमा सहजताको लागि कालोपत्रेको काम अघि बढाइए पनि दुवै निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेका हुन् । सडक कालोपत्रे नहुँदा वर्षाको समयमा अवरुद्ध हुने गरेको स्थानीय कमल रिजालले बताए । ‘सडक खुलेको १३ वर्ष बित्यो, अझै कालोपत्रे भएन,’ उनले भने, ‘जोखिम मोलेर अझै कहिलेसम्म यात्रा गर्नुपर्ने हो ?, सडक झन् झन् जीर्ण बन्दै गएपछि अहिले त यात्रा गर्न पनि डर लाग्छ ।

निर्माण कम्पनीले ८/१० जना कर्मचारी र १/१ वटा डोजर निर्माणस्थलमा राखेर देखावटी काम मात्र गरेको स्थानीय नन्दराम बुढाले बताए । ‘काम गर्ने क्रममा सडकमा थुपारेका ढुंगामाटोले झनै सास्ती दिएको छ,’ उनले भने, ‘धेरै ठाउँमा २ वटा गाडी वारपार हुन नसक्दा जाम हुने गरेको छ ।’ उनका अनुसार बाबियाचौरदेखि ज्यमिरेसम्म काम गरिरहेको प्राकृतिक निसान जेभीले १/२ महिना काम गरेर सडक अलपत्र पारेपछि सडकमा खाल्डाखुल्डी बढेको छ ।

निर्माण कम्पनीले सडकमा थुपारेको ढुंगामाटोका कारण बटुवालाई हिँड्न पनि समस्या भएको सल्लीका निर्मल रोकाले बताए । ‘बाटोमा हिँड्दा पनि धुलो उडेको उड्यै हुन्छ,’ उनले भने, ‘आसपासका विद्यालयका विद्यार्थीलाई विद्यालय जान पनि समस्या भएको छ ।’ उनले सामान्य वर्षा भए पनि बाटो अवरुद्ध हुने गरेको बताए । सडकमा थुपारेको ढुंगामाटोका कारण बाटो साँघुरो हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बालुवासंग्रही सडक बन्गाडकुपिण्डे नगरपालिकाबाट सदरमुकाम जाने मुख्य सडक भएकाले स्तरवृद्धि तथा कालोपत्र गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको बताए । पूर्वाधार विकास कार्यालयका अनुसार अहिलेसम्म बाबियाचौर–ढोरपिपल सडकमा मुस्किलले ३० प्रतिशत मात्र काम भएको छ । कार्यालयका प्रमुख विनोदकुमार पुनले ढोरपिपलदेखि बालुवासंग्रही खण्डमा भने कामले गति लिएको बताए । ‘ठेकेदारलाई बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरिरहेका छन्,’ उनले भने, ‘सडक कालोपत्र नहुँदा हामीले गाली खानुपरिरहेको छ ।’

बाबियाचौर–ज्यामिरे खण्डमा भने चैतसम्मका लागि २ पल्ट म्याद थप भइसकेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका इन्जिनियर रिकेश महर्जनले कोरोनाका कारण पनि केही ढिलाइ भए पनि सडकमा ठेकेदारले लापरवाही गरेको बताए । उनका अनुसार अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएको छ ।

जिल्लाको पश्चिम क्षेत्रका स्थानीयलाई आउजाउमा सहज बनाउन तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठको २०४२ सालमा खलंगा–जयतपानी–बालुवासंग्रही सडकको निर्माण थालिएको थियो । जसमा स्थानीयले झन्डै १ महिनासम्म श्रमदानसमेत गरेका थिए । २०६४ मा साविक जिल्ला विकास समितिले पुनः १ करोड रुपैयाँ बजेट छुट्टयाएर सडकलाई पूर्णता दिएको थियो । २०६५ देखि नियमित गाडी चल्न थालेको सडकमा सल्यानसहित जाजरकोट, सुर्खेत, दैलेख, रुकुम पश्चिमलगायत जिल्लाका बासिन्दाले यात्रा गर्छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन

काठमाडौँ – प्रतिनिधिसभाका सांसद्हरूले जीर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो