"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहुलियत कर्जा पाउन थालेपछि किसान उत्साहित

प्रकाशित मिति :  १६ माघ २०७८, आईतवार १३:२५


सुशासन नेपाल संवाददाता।

पाल्पा, माघ १५ । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ।

कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो। तीमध्ये महिला व्यवसायीलाई चार प्रतिशत र पुरुष व्यवसायीलाई पाँच प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ रेडा, हेफर प्रोजेक्ट नेपालको सहयोगमा कृषि तथा पशुपालन गरेका उद्यमीलाई सहुलियत ब्याजदरको कर्जाका लागि नगरपालिकाद्वारा सिफारिस भई आएकामध्ये बैंकले रु तीनदेखि नौ लाखसम्म कर्जा उपलब्ध गराएको बैंकका वीरबहादुर सारुले बताए।

सस्तो ब्याजदरमा कर्जा पाएपछि किसानहरु खुसी भएका छन्। तानसेन बौघागुवाका लक्ष्मण थापाले रु नौ लाख सहुलियत ब्याजदरमा कर्जा पाएपछि खुसी बनेका छन्। ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसानहरुलाई यति धेरै मात्रामा कर्जा पाउँदा थप हौसला मिलेको उनको भनाइ छ। ‘ऋण लिएर भए पनि लगानी थपौं, व्यवसाय बढाऔं भन्ने थियो  तर, महँगो ब्याज र झन्झटिलो प्रक्रियाले सकिरहेका थिएनौं’, उनले भने, ‘अब नगरपालिकामै सहुलियत कर्जा पाउने भएपछि उत्साहित भएका छौं।’

तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले युवाहरुलाई व्यावसायिक उत्पादनमा लगाउन सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्न थालिएको बताए। युवाहरुलाई आर्थिक रुपले सम्पन्न बनाउन कृषि र पशुपालनका क्षेत्रमा थप आकर्षित गर्न खाँचो रहेको उनले बताए।

‘उत्पादकत्व बढाउन र बजारीकरणमा पालिकाले लगानी तथा प्रोत्साहन गरिरहेको छ’, उनले भने, ‘व्यवसायिक कृषि तथा पशुपालनका लागि पालिकाले तालिम तथा अनुदान दिने, औजार उपलब्ध गराउने, व्यापारीकरणका लागि कृषि यान्त्रिकीरणमा जोड दिनेलगायत कार्यक्रम गरेर कृषिमा धेरै जनतालाई जोडेको तानसेनले अब किसानलाई सहुलियतमा ऋण पनि उपलब्ध गराएको छ।’

ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले युवाहरुलाई व्यावसायिक पशुपालन तथा कृषि उत्पादनमार्फत स्वरोजगार बनाउन थालिएको बताए। उनले स्वदेशमा युवालाई टिकाइराखी कृषि पशुपालनमार्फत जिल्ला मासु तथा तरकारीमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए। पूँजीको अभावले युवाहरु उद्यमी बन्न नसकेको भन्दै नगरपालिका जमानी बसेर विनाधितो सहुलियतपूर्ण कर्जा वितरण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे।

नगरपालिकाभित्र व्यवसायिक रुपमा अग्रसर हुन चाहने महिला, युवा, अपाङ्गता भएका व्यक्ति, गरीब, दलित, आदिवासी जनजातिलाई लक्षित गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको नगरपालिकाले जनाएको छ। ऋण लिएर व्यवसाय गर्छुभन्दा पनि कागज लिएर बैंक दौडनु पर्ने, प्रक्रिया नै जटिल भएकाले किसानकै पहुँच नपुग्ने अवस्था अब यहाँ अन्त्य भएको नगरप्रमुख शाहीले बताए।

‘तपाईंहरुले उत्पादन गर्नुस्, हामी सहुलियत दिन्छौं। तपाईंले गरेको उत्पादन बजारसम्म पुर्‍याउने काम पनि नगरपालिकाले गर्छ’, उनले भने, ‘व्यवसायिक कृषि तथा पशुपालन गर्न चाहने किसानलाई नगरपालिका र बैंकको समन्वयमा कर्जा उपलब्ध गराइने छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ – चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

म्याग्दी- दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा १ लाख ४४ हजार १५५

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक