"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भन्सार छली ल्याइएको डेढ करोडभन्दा बढीको मदिरा बरामद

प्रकाशित मिति :  30 January, 2022 2:53 pm


सुशासन नेपाल संवाददाता ।
काठमाडौं, माघ १५ । काठमाडौं उपत्यकाभित्रका मदिरा बजारमा भन्सार छली ल्याइएका नक्कली रक्सी बिक्री हुँदै आएको खुलेको छ । दुई दिनको अपरेसनमा प्रहरीले विभिन्न विदेशी ब्रान्डका तीन सयभन्दा धेरै कार्टुन मदिरा बरामद गरेपछि यो तथ्य खुलेको हो ।

एसएसपी वसन्त कुँवर, प्रमुख महानगरीय अपराध अनुसन्धान महाशाखा

दुई दिनको अपरेसनमा ठूलो परिमाणमा मदिरा बरामद भएको छ । सबै विदेशी ब्रान्डका देखिन्छ । अन्तःशुल्कको स्टिकर कुनैमा पनि छैन । त्यसैले यो भन्सार छली ल्याइएको जस्तो देखिन्छ । बरामद मदिरा परीक्षण गरेपछि यसबारे नयाँ तथ्य खुल्छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबारबाट थालेको विशेष अपरेसनपछि सीतापाइलाबाट ठूलो परिमाणको मदिरा बरामद गरेको हो । बरामद रक्सीको बजार मूल्य डेढ करोड रुपैयाँभन्दा धेरै पर्ने प्रहरीको भनाइ छ । बरामद मदिरा रेड लेबल, ब्ल्याक लेबल, एब्सुलुट भोड्का र चिभास ब्रान्डका छन् । प्रहरीका अनुसार बरामद कुनै पनि ब्रान्डको रक्सीमा अन्तःशुल्कको स्टिकर टाँसिएको छैन ।

सबै मदिरा भन्सार छली काठमाडौं भित्र्याइएको र केही नक्कली पनि हुन सक्ने महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए । ‘ठूलो परिमाणमा मदिरा बरामद भएका छन् । सबै विदेशी ब्रान्डका देखिन्छ । अन्तःशुल्कको स्टिकर कुनैमा पनि छैन । त्यसैले यो भन्सार छली ल्याइएकोजस्तो देखिन्छ । बरामद मदिरा परीक्षण गरेपछि यसबारे नयाँ तथ्य खुल्ला,’ उनले भने ।

प्रहरीले कारोबारमा संलग्न चार अभियुक्तलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायणप्रसाद घिमिरे, रवीन तामाङ, सन्तोषकुमार बखरेल र शैलेश पन्त छन् । उनीहरूले काठमाडौं उपत्यकाभित्रका बजारमा लगी मदिरा बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बरामद मदिराको मूल्य डेढ करोड रुपैयाँभन्दा धेरै रहेको बताए । ‘विभिन्न विदेशी ब्रान्डका मदिरा बरामद भएका छन् । ती तीन सयभन्दा धेरै कार्टुनमा प्याक गरिएका थिए । बरामद मदिराको बजार मूल्य डेढ करोड रुपैयाँभन्दा धेरै पर्ने हामीले पाएका छौँ । घटनाको अझै अनुसन्धान सकिएको छैन । बरामद मदिरा कहाँबाट कसरी ल्याइएको विषयमा अनुसन्धान गर्दै छौँ,’ उनले भने ।

बरामद मदिराको गुणस्तर परीक्षण हुन बाँकी
बजारमा नक्कली मदिरा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले शुक्रबारबाट विशेष अपरेसन सुरु गरेको थियो । सोही अपरेसनपछि गोदाममा थन्क्याइराखेको अवस्थामा प्रहरीले मदिरा बरामद गरेको हो । बरामद मदिराको गुणस्तर परीक्षण हुन बाँकी छ । अनुसन्धानकै चरणमा रहेकाले मदिराको गुणस्तर परीक्षण बाँकी रहेको महाशाखा प्रवक्ता एसपी कोइरालाले जानकारी दिए । ‘बरामद मदिरा नक्कली हुन सक्छ । गुणस्तर परीक्षण गर्न बाँकी छ । अझै अपरेसन सकिएको छैन । अपरेसनको पहिलो चरण पूरा हुनासाथ हामी गुणस्तर परीक्षण गर्छौैैँ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने सूचना हामीले पाएका छौँ,’ उनले भने ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले गत साता नक्कली मह उत्पादन गर्ने ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । कारखाना नै खोलेर नक्कली मह उत्पादन गर्दै आएका श्रेष्ठको गोदामबाट प्रहरीले सात हजार ६ सय केजी तयारी मह बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।