"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कागबेनी र मुक्तिनाथमा तिर्थालुहरुको घुइँचो

प्रकाशित मिति :  २६ चैत्र २०८०, सोमबार १८:५१


म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।

कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए ।

‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ’, उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’

बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् ।

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सात वटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए ।

शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

‘तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ’, उनले भने, ‘तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षती पुर्‍याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताए ।

वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका-७ ताकमका शिक्षक जीवन पौडेलले बताए ।

तस्वीरहरू : सन्तोष गौतम/रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । आइतबार

काठमाडौँ – पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी

 काठमाडौँ – सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने