"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आजदेखि इलाममा अन्तु महोत्सव

प्रकाशित मिति :  12 April, 2024 1:03 pm


इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ ।

महोत्सवको दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए। ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।

महोत्सवमा कलाकार यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए। ‘पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ,’ उपप्रमुख बरालले भने, ‘यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।’

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिसमेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर