"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेमिफाइनलमा यूएईसंग नेपाल ६ विकेटले पराजित

प्रकाशित मिति :  19 April, 2024 6:15 pm


काठमाडौँ । नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो ।

योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो ।

यूएईले १ सय २० रनको लक्ष्यलाई १६ बल अगाडि नै १ सय २३ रन बनाउदै पूरा गर्‍यो । अलिसान सराफु ५५ र आयान अफजल खान ३ रन बनाई अविजित रहे । सराफुले ४१ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर एवं कप्तान मोहम्मद वासिम ७ बलमा ११ रन बनाई आउट भए । दोस्रो ओभरमा वासिमले सोमपाल कामीको बलमा छक्का प्रहार गरेका थिए । तर त्यसको अर्को बलमै सोमपालले उनलाई बोल्ड गरे ।

गुलशन झाले विष्णु सुकुमरन र आसिफ खानलाई आउट गरे । सुकुमरनले २८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २८ र आसिफले ६ बल खेली १ छक्का प्रहार गर्दै १० रन बनाए । सैयद हैदरलाई ललित राजवंशीले १४ रनमा एलबीडब्लू आउट गरे । यसअघि सन्दीप जोराले अर्धशतक बनाए पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाललाई यूएईले ११९–९ को स्कोरमा रोकेको थियो । खेलको पहिलो बलमै कुशल भुर्तेललाई जुनाइद सिद्धिकीले विकेटकिपरको पछाडि क्याच आउट गरेपछि नेपाली इनिङ्स मस्कटस्थित अल अमेराटमा पूरा दबिएर खेलेको थियो ।

अर्का ओपनर आसिफ शेखले एक छक्का प्रहार गरे पनि ११ बलमा ८ रनमात्र बनाउन सके । कप्तान रोहित पौडेल पनि लामो सिक्न टिक्न सकेनन् । उनले १८ बल खेली ५ रनमात्र बनाउन सके । कुशल ५ बलमा ३ र दीपेन्द्रसिंह ऐरी ८ बलमा ५ रन बनाई आउट भए ।

जोरा ५० रन बनाई आउट भए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको तेस्रो अर्धशतक हो । उनले ४० बल खेली ४ चौका र २ छक्का प्रहार गरे । नेपालबाट दोहोरो स्कोर बनाउने अर्का दुई खेलमा गुलशन र करण केसी थिए । गुलशनले १६ बल खेली समान १ चौका र छक्कासहित २० तथा करणले दुई छक्कासहित १२ बलमा १७ रन बनाए ।

सोमपाल २ रनमा आउट भए । अविनाश बोहरा १ र ललित राजवंशी २ रनमा अविजित रहे । यूएईबाट सिद्धिकी, अली नसिर र बसिल हमिदले २–२ विकेट लिए । सिद्धिकीले ४ ओभरमा २६, नसिरले ४ ओभरमा २८ र हमिदले २ ओभरमा ४ रन दिएका थिए । सफि रहमान, आयान अफजल खान र मोहम्मद फारुकले १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको