"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

प्रकाशित मिति :  26 April, 2024 1:11 pm


काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ।

प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ती दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा जारी निर्देशनमा भनिएको छ, ‘सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउनू।’

त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ।

त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायत कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेशबारे प्रष्टीकरण दिएका छन्। बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति