"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हात्तीपाइले रोग विरुद्धको औषधि १६ गते देखि खुवाइँदै

प्रकाशित मिति :  १४ बैशाख २०८१, शुक्रबार १३:१९


काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका फोकल पर्सन राम कुमार महतोका अनुसार सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । उनका अनुसार ५३ जिल्लामा समुदायिक स्तरको संक्रमण रोकिएकाले आम औषधि सेवन बन्द गरिएको छ । चार वटा जिल्लामा औषधि सेवन कार्यक्रम सकेर सर्भे भइरहेको छ ।

बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताउँदै महत्तोले समुदाय स्तरमा संक्रमण रोकिएको वा नरोकिएको भन्ने विषयमा १० महिनापछि अध्ययन हुने बताए । अभियानका लागि यस वर्ष सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ स्थानीय निकायमा निकासा भइसकेको छ ।

आम हात्तीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टिन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल छन् । डाइइथाइल्कारबामाजिन (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि रगत र पेटमा भएको परजीवी जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । सरकारले हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००३ देखि ती औषधि खुवाइरहेको छ भने सन् २०३० सम्ममा नेपालबाट पूर्ण रुपमा निवारण गर्ने लक्ष्य छ ।

हात्तीपाइले रोग कसरी लाग्छ ?

हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो । यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकाले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारिदिन्छ । यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई सार्ने काम गर्दछ ।

हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु

सुरु–सुरुमा यो रोगको परजीवी मानिसको शरीरभित्र भएतापनि हात्तीपाइले रोगको कुनै लक्षण देखिंदैन । लामो समयपछि एक वर्ष वा त्योभन्दा बढी समयपछि मात्र रोगका लक्षणहरू देखिनसक्छ ।

  • ज्वरो आउनु
  • जाडो लाग्नु
  • शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु
  • हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु
  • महिलाहरूलाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु
  • पुरुषहरुलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुनु वा हाइड्रोसिल हुनु
  • बिरामीका यौन अंगहरू सुन्निनु
  • रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो मोटो हुनु

हात्तीपाइले रोग लागेमा के गर्ने ?

हात्तीपाइले रोगका लक्षणहरू देखिएमा सेवा, सल्लाह तथा उपचारका लागि तुरून्तै नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

यो रोगबाट बच्नका लागि नेपाल स्वास्थ्य मन्त्रालयद्वारा कार्यक्रम लागु भएका जिल्लाहरूमा प्रत्येक वर्षमा एकपटक गरी ६ वर्षसम्म लगातार औषधी सेवन गर्नुपर्छ । स्थानीय तालिमप्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरू मार्फत औषधि वितरण केन्द्र तथा घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो ।

यो औषधी वर्षको एकपटक गरी ६ वर्षसम्म लगातार सेवन गर्नुपर्छ अनि मात्र आफू र आफ्ना सन्तानहरूलाई पनि यो रोगबाट बचाउन सकिन्छ ।

हात्तीपाइले रोग नै लाग्न नदिन के गर्ने ?

हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ–

  • सुत्ने बेलामा सधैं झुल प्रयोग गरी सुत्ने
  • पुरा बाहुला भएको लुगा र सम्पूर्ण शरीर छोप्ने लुगा लगाउने
  • घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मल्हम लगाउने ।
  • लामखुट्टे भगाउने धुप बाल्ने । लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने
  • झ्यालढोकामा मसिनो जाली लगाउने
  • गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फुल (लार्भा) नपारोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने ।

रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र

काठमाडौं – जाडो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख