"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ संग पराजित

प्रकाशित मिति :  १६ बैशाख २०८१, आईतवार १७:४५


काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२० सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।

गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १-१ विकेट लिए ।

अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिएको थियो । स्ट्राइकमा रोहित पौडेल र बलरमा म्याथ्यु फर्ड थिए । पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्ट्रेटमा चौका भएको थियो । तेस्रो बलमा आकाश चन्द दुई रन लिन दौडिँदा रन आउट भए । चौथो बलमा सागर ढकालले १ रन लिए । त्यसपछि बाँकी दुई बलमा ११ रन चाहिएको थियो । पाँचौं बलमा रोहितले लङअनमा सट खेलेपनि रन लिएनन् । नेपालको हार पक्का बनेको थियो । त्यसपछि अन्तिम बल डट खेले ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चार्ल्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनैपनि समय वेष्टइण्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् । रोस्टन चेस, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल  र वेष्टइण्डिज १–१ को स्थितिमा छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। १८ सदस्यीय नेपाली टोलीको

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र