तेस्रो टी-२० खेलमा नेपाल वेष्टइण्डिज ए सँग पराजित
काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल खेल्न बाँकी छदा १५१ रनमा अलआउट भयो।
नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए। लगातार विकेट गुमाएको नेपालका ओपनर लोशेक बमले गुणाकेश मोतीबाट बोल्ड हुनुअघि २९ बलमा १ चौका २ छक्काको मद्दतमा २८ रन जोडे। कुशल मल्लले ११ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन बनाए।
गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए। कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके। अन्तिम ओभरमा आउट भएका करण केसीले २८ रन जोडे। बलिङमा वेस्ट इन्डिजका हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो। आक्रामक ब्याटिङ गरेका जोनसन ओपनिङ ब्याटर चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्काको मद्दतमा नटआउट ११९ रन जोडे। कप्तान रस्टिन चेजले ७ बलमा नटआउट १३ रन बनाए।
चार्ल्ससँग १४५ रनको साझेदारी गरेका आन्द्रे फ्लेचर ५३ रन जोडेर आउट भएका थिए। ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका फ्लेचरलाई १६औं ओभरमा सागर ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। बियन एलन ९ बलमा १९ रन जोडेर करण केसीको बलिङमा १९औं ओभरमा क्याच भए।
त्यसअघि वेस्ट इन्डिजले १० ओभरमै १ विकेटको क्षतिमा १०९ रन जोडेको थियो। वेस्ट इन्डिजका ओपनर एलिक एथानाज भने चौथो ओभरको पहिलो बलमा रनआउट भए। उनी १७ रन बनाएर खेलिरहदा अनिल साहको थ्रोमा बलर कमलसिंह ऐरीले रनआउट गरे। ननस्ट्राइकमा रहेका उनी चार्ल्सले रनका लागि कुनै संकेत नदिँदा रनआउट भएका थिए।
बलिङमा नेपालका करण केसी र सागर ढकालले १-१ विकेट लिए। चार चार ओभर बलिङ गरेका करण र कमलसिंह ऐरीले क्रमश: ५४ र ५३ रन खर्चिए। आजको खेलमा जित हात पारेसँगै पाँच खेलको सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। अब चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ। नेपालले पहिलो खेलमा जित निकालेको थियो।
नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको ए टिमसँग सिरिज खेलेको हो। शनिबार सिरिज सकिएपछि नेपाल तयारीका लागि वेस्ट इन्डिज जानेछ।