"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशभर १८३ स्टार्टअप उद्यम कर्जाका लागि परियोजना सिफारिस

प्रकाशित मिति :  9 June, 2024 12:08 pm


काठमाडौँ । देशभर विभिन्न १८३ परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ वटा परियोजनाको अन्तिम छनोट गरी स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट छनोटमा परेका परियोजनाले न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रुपियाँ कर्जास्वरूप प्राप्त गर्ने छन् । 

कर्जा उपलब्ध गराउन प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैङ्कसँग यसअघि गत माघमा सम्झौता गरिसकेको छ । औद्योगिक व्यवसाय विकास प्रष्ठिानका कार्यकारी निर्देशक उमेश गुप्ताले अन्तिम छनोटमा परेका १८३ परियोजना सिफारिस गरिसकेकाले राष्ट्रिय वाणिज्य बैङ्कमार्फत चार/पाँच दिनमै कर्जा प्राप्त गर्ने जानकारी दिनुभयो । स्टार्टअप उद्यम कर्जाबापत उद्यमीले न्यूनतम पाँचदेखि २० लाख रुपियाँसम्म प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । 

जुन तीन प्रतिशत ब्याजमा सात वर्षसम्मका लागि परियोजनाका उद्यमीले प्रयोग गर्न पाउने छन् । स्टार्टअप नीति पारित भइसकेकाले यस कार्यक्रम कार्यान्वयन गर्न सहज भएको उहाँको भनाइ छ । बैङ्कले छनोटमा परेका परियोजनको तमसुक बनाई स्थलगत निरीक्षण गरेर कर्जा वितरण गर्ने छ । योग्य प्रस्तावकको सूचीमा परेका ३९४ वटा परियोजना प्रस्तावकको प्रस्तुतीकरणका आधारमा ५० प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गर्ने परियोजना छनोट भई सिफारिस गरिएको समितिले जनाएको छ ।

चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्षको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गरिने कार्यक्रम घोषणा गरिए पनि अहिले आएर कार्यान्वयनमा आउन सफल भएको छ । चालु आवमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको छ । 

स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट तीन किस्तामा उपलब्ध गराइने छ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने स्टार्टअप उद्यम कर्जा कार्यविधिमा उल्लेख छ ।

नियामक निकाय र बैङ्कबाट गरिने अनुगमनका क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने, आफूले गरेको स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन चौमासिक रूपमा कर्जा प्रवाह गर्ने बैङ्कमा पेस गर्ने, प्रतिष्ठान, समिति र बैङ्कले दिएको निर्देशन पालना गर्ने कर्तव्यसमेत कर्जा लिने स्टार्टअप उद्यमीको हुने गरी तोकिएको छ ।

तोकिएको समयमा कर्जा चुक्ता नगरे बैङ्कले कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने भएको छ । कर्जा चुक्ता नगरे खराब कर्जामा गणना गरिने छ । उद्यमीको राहदानी रोक्कादेखि चलअचल सम्पत्ति रोक्कासम्मको कारबाही हुने गरी कार्यविधिमा तोकिएको छ । 

स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने परियोजनामा बिबाबो सर्भिस प्रालि, स्युचाटार दुनाटपरी हाउस, पुष्पाञ्जली नेपाली हाते कागज उद्योग, याफु नमुना कृषि तथा पशु फार्म, करुणा पर्माकल्चर फर्म एन्ड लर्निङ सेन्टर, वारिस फुटवेर, कागजपत्र प्रालि, मयूर उद्योग रहेका छन् । यस्तै कृषि जैविक खाद्य उत्पादन र रिर्सच सेन्टर, नमस्ते ड्राई क्लिनिङ, उज्यालो फलफूल तथा नर्सरी उद्योग, आइकन सफ्ट टेक्नोलोजी, ग्रिन पिक एग्रो फर्म, हबिबी चिया प्रालि, मनिष टेन्ट सिलाइ सेन्टर, छयाङ रेन्बो ट्राउट फर्मलगायतका रहेका छन् ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर