रास्वपा बैठक : किन महामन्त्री ढकालले बाँधे मुखमा कालो टेप ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप बाँधेर विरोध जनाएका छन् । बालाजुस्थित केन्द्रीय कार्यालयमा चलिरहेको बैठकमा महामन्त्री ढकालले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेपको क्रस बनाएका छन् ।
बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोधस्वरूप उनले मुखमा कालो टेप बाँधेका हुन् । लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि केन्द्रीय समितिले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।
केही दिनअघि मात्र रास्वपाले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधिएको थियो । सभापतिलाई बुझाइएको प्रतिवेदन पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो । देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारेका थिए ।
एमाले-कांग्रेसले सरकार बनाउने सहमति गरेपछि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।













