"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता

प्रकाशित मिति :  5 July, 2024 10:32 am


काठमाडौँ । केन्द्रमा कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा सहमति भएसँगै प्रदेश सरकारहरू फेरिने क्रम फेरि सुरु भएको छ । बुधबार संघीय सरकारबाट बाहिरिएको एमालेले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन लगाएको हो । 

सुदूरपश्चिम एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र तीन मन्त्रीलाई राजीनामा दिन लगाएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ मा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले बाहिरिएपछि हाल प्रदेशसभामा पेस भएको बजेट अन्योलमा परेको छ । अब बजेट पारित नहुने देखिएको पूर्वआर्थिक मामिलामन्त्री झपट बोहराले बताए । ‘अब अध्यादेश, पूरक या पेस्की बजेट ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘प्रदेशसभा चलिरहेकाले अध्यादेश ल्याउन सकिने अवस्था छैन । पूरक बजेट ल्याउने सम्भावना पनि छैन । तसर्थ, साउन १ मा पेस्की बजेट ल्याउनुपर्ने हुन्छ ।’ तर केही दिनभित्र मुख्यमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठन हुन सके नयाँ सरकारले असार मसान्तभित्रै संशोधित बजेट ल्याउन सक्ने उनको भनाइ छ । सोडारी नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो । बजेट पेस भएयता प्रदेशसभा बैठक बस्न सकेको छैन ।

यता लुम्बिनीमा एमालेका ५ मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि माओवादीका मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलका नेता लीला गिरीले पनि प्रदेशका सन्दर्भमा कसरी अघि बढ्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्देशन नआएको बताए ।

‘कांग्रेस संसदीय दलका नेता पनि काठमाडौंतिरै भएकाले थप छलफल हुन पाएको छैन,’ उनले भने । तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले मन्त्रीहरूले राजीनामा दिएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताए । मुख्यमन्त्री महराले साउन ७ भित्र विश्वासको मत लिनैपर्ने अवस्था छ ।

लुम्बिनीमा सरकारलाई समर्थन गरेको जसपा नेपाल टुक्रिएपछि प्रदेशसभा सदस्य अम्बिका काफ्लेले असार ९ मा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी थिइन् । लुम्बिनीमा जसपाका ३ सांसदमध्ये २ जनाले सरकारलाई समर्थन गरेका छन् । जसपा नेपाल (उपेन्द्र यादव समूह) तर्फ लागेकी काफ्लेले समर्थन फिर्ता लिएकी हुन् । आफूहरू सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री महराले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने