"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसदद्वारा बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  २६ असार २०८१, मंगलवार १५:५७


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य जमिन पानीमा डुबानमा परेका बताउँदै यस्तो अवस्थामा सरकारले के गरिरहेको छ भनी प्रश्न गरिन् । 

सांसद अम्बरबहादुर रायमाझीले अविरल वर्षाका कारण उदयपुरका विभिन्न गाउँपालिकामा सडक र विद्युत् सेवा अवरुद्ध, खानेपानी, टेलिफोन सेवा बन्द भएकाबारे सरकारको ध्यानाकर्षण गराए । सांसद ईश्वरीदेवी न्यौपानेले बाढीपहिराले वितण्डा मच्चाएका बेला सरकारको नेतृत्व गरेका दलहरूको ध्यान सरकारको आयु लम्ब्याउनमा केन्द्रीत भएको आरोप लगाइन् । उनले विपद् आउनुअघि नै पूर्व तयारीका लागि खासै काम नगरेकाले बढी समस्या भएको धारणा राखिन् ।

सांसद किरणकुमार साहले दक्षिण कोरियामा रहेका लाखौँ नेपाली युवाले महँगो हवाई टिकटबारे श्रममन्त्रीलाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको उल्लेख गर्दै कोरिया जाने श्रमिकको भाडादर पुनरावलोकन गर्न सरकाररसँग आग्रह गरे ।

सांसद कुसुमदेवी थापाले असहाय, शारीरिकरूपमा कमजोर बालबालिकालाई राज्यले संरक्षण दिए पनि बालिग भएपछि व्यवस्थापन गर्ने विषयमा आवश्यक स्पष्ट नीति नभएकाले सोसम्बन्धी व्यवस्था गर्न जरूरी रहेको धारणा राखिन् ।

सांसद गंगाप्रसाद यादवले अविरल वर्षाका कारण धेरै जनधनको क्षति भइरहे पनि सरकारले आवश्यकतानुसार काम गर्न नसकेको बताए । सांसद चन्दा चौधरीले वर्षाका कारण भएको धनजनको क्षतिबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद अच्युतप्रसाद मैनालीले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई थप विस्तार र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अमृतलाल राजवंशीले सरकार अल्पमतमा परेको र संवैधानिक तथा नैतिक अधिकार नभएकाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

सांसद उर्मिला माझीले अहिले संसद्का दुई ठूला दल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका र संविधान संशोधनमार्फत परिवर्तनलाई नै चुनौती दिनसक्ने आशङ्का व्यक्त गरिन् । सांसद एकनाथ ढकालले पूर्वसासंदको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद कान्तिका सेजुवालले स्थानीय तह र प्रदेशले गर्ने कारोबारको भुक्तानी गर्ने ‘सफ्टेवयर’ सोमबार राति १२ बजेबाट बन्द भएको बताउँदै वर्षाको समयमा विद्युतीय कारोबार गर्न आवश्यक सफ्टवेयर सञ्चालनका लागि आग्रह गरिन् । सांसद गोमा लाभ (सापकोटा) ले विपद्को बेला सरकारको आश नगरी दुःख परेको बेलामा उद्धार र राहतमा मद्दत पुर्‍याउने गरी आफ्नो पारिश्रमिकबाट प्रति महिना केही रकम छुट्याएर सङ्घीय सांसद राहत कोष स्थापना गर्न आग्रह गरिन् । सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध भएकाले तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षाण गराए ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले नेकपा (माओवादी केन्द्र) ले संविधानको पालना गर्ने बताउँदै प्रधानमन्त्रीले संविधानअनुसार नै विश्वासको मत लिँदासम्म अन्य दललाई धैर्य गर्न आग्रह गरिन् । सांसद छिरिङ डम्डु लामा भोटेले कांग्रेस र एमालेबीच भएको नयाँ गठबन्धनले भ्रष्टाचार र अनियमितताका फाइल खोलेर छानबिन गर्न सक्नुपर्ने बताए ।

सांसद जावेदा खातुन जागाले वर्षाका कारण बाढीपहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताउनुभएको

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन