कांग्रेस एमालेले टुंग्याए मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् ।
ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ । यद्यपि, अन्य साना दललाई पनि सामेल गरेर ओली नेतृत्वको सरकारलाई दुईतिहाइ बढीको समर्थनप्राप्त सरकार बनाउने कांग्रेस र एमालेको योजना छ । चालू संसद्को यसअघिको डेढवर्षे अवधिमा दुईपटक एमाले र एकपटक कांग्रेससहितका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए ।
कांग्रेसबाट नेता प्रकाशमानको नेतृत्व
देउवासँगको पछिल्लो छलफलमा एमालेले प्रधानमन्त्रीसहित कम्तीमा सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने र दुवै प्रमुख दलबाट एक–एकजना उपप्रधानमन्त्री बनाउने समझदारी छ । जसअनुसार कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् भने एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दै छन् ।
नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंगो लगाएको छ। कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्। काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन्।
गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा तय भईसकेका छन् । अन्यको मन्त्रालय अझै टुङ्गीएको छैन । अजय चौरसिया, किशोरसिंह राठौर, प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम तय भएको छ।
कांग्रेसले गृहसहित परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिने मोटामोटी समझदारी छ । त्यस्तै, एमालेले अर्थसहित, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी छ ।
एमालेबाट ६ मन्त्रीको टुंगो
नेकपा एमालेले सरकारमा जाने ६ जना मन्त्री टुंग्याएको छ। एमालेबाट एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने लगभग टुंगो लागेको छ।
त्यस्तै जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ। पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने टुंगो लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ।













