"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री ओली बिमस्टेकमा भाग लिन बैंकक जाने तयारी

प्रकाशित मिति :  5 August, 2024 10:09 am


काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को थाइल्यान्डमा हुने छैटौं शिखर सम्मेलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश यात्रा सुरु हुने भएको छ ।

चौथो पटक प्रधानमन्त्री भएका ओलीले यस पटक छिमेकी मुलुकभन्दा पनि बहुपक्षीय फोरमबाट आफ्नो विदेश यात्रा थाल्ने भएका हुन् । बिमस्टेकको सम्मेलन भदौ १८ र १९ मा थाइल्यान्डको राजधानी बैंककमा हुँदै छ ।

प्रधानमन्त्री ओलीले बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । ‘हामीलाई प्रधानमन्त्रीले नै शिखर सम्मेलनमा सहभागिता जनाउने भनिएको छ । त्यहीअनुसार गृहकार्य भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो । सम्मेलनमा सरकार प्रमुख वा राष्ट्र प्रमुखले भदौ १९ मा सम्बोधन गर्ने तालिका छ ।

भ्रमणका क्रममा ओलीले बैंककमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र स्रोतले जनाएको छ । ‘साइडलाइन भेटवार्ताका लागि पनि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । त्यसमा भारतका प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र अन्य मुलुकका सरकार र राष्ट्र प्रमुखहरूसँग साइडलाइनमा भेटवार्ता गर्न गृहकार्य भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

ओलीले पहिलो (२०७२) र दोस्रो पटक (२०७४) प्रधानमन्त्री हुँदा भारतबाटै विदेश यात्रा थालेका थिए । २०७८ मा तेस्रो पटक प्रधानमन्त्री नियुक्ति भएका बेला भने उनले कुनै मुलुकको भ्रमण गरेनन् । उनी त्यति बेला तीन महिना मात्र प्रधानमन्त्री भएका थिए ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो । बिमस्टेकमा सार्कमा रहेका मुलुकहरू पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि अघि बढाइएको बिमस्टेक अहिलेसम्म विवाद नआएको पनि होइन । भारतको अगुवाइमा सन् २०१८ सेप्टेम्बरमा पुनेमा बिमस्टेकका सदस्य राष्ट्रहरूबीच संयुक्त सैनिक अभ्यास आयोजना गरिएको थियो । त्यसको विरोध भएपछि नेपालले उक्त अभ्यासमा सहभागिता जनाएन । थाइल्यान्डले पनि उक्त सैनिक अभ्यासमा भाग लिएन । सन् २०२२ डिसेम्बरमा दोस्रो पटक भएको सैनिक अभ्यासमा पनि नेपालले सहभागिता जनाएन । तर, नेपालबाट एक सैनिक पर्यवेक्षकका रूपमा सहभागी भए । सैनिक अभ्यासको तेस्रो संस्करण भने भएको छैन ।

प्रधानमन्त्री ओली बिमस्टेकबाट फर्केलगत्तै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क निस्कने छन् । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको न्युयोर्क यात्राका लागि पनि गृहकार्य भइरहेको छ । न्युयोर्कमा रहेको नेपालको स्थायी नियोगलाई पनि गृहकार्यका लागि परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । महासभा भदौ २५ मा हुनेछ ।

महासभामा असोज ८ देखि १२ सम्म उच्चस्तरीय छलफल हुनेछ, जहाँ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्नेछन् । यस पटक असोज ७ र ८ मा राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रमसमेत हुने भएको छ । यसका लागि नेपालका प्रधानमन्त्रीलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निम्तो पठाइसकेका छन् ।

  • एजेन्सी : पत्रपत्रिका / रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्