कांग्रेस बैठकमा प्रतिवेदन सहित ११ एजेन्डा माथि छलफल हुने
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने भएको छ। आज बसेको बैठकमा ११ वटा एजेन्डा पेस भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावलाई केन्द्रीय समितिका पदाधिकारीले परिमार्जन गरेको बताए।
महासमिति बैठक भएको साढे पाँच महिनापछि उक्त बैठकमा प्रस्तुत दस्तावेजहरु पारित गरेको छ । महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अलग-अलग प्रतिवेदनहरु पेस गरेका थिए । महासमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल र सुझावहरु संकलन भएपनि सुझावहरु प्रतिवेदनमा समेटिएको थिएन ।
सभापति शेरबहादुर देउवाले सुझावहरु सहित प्रतिवेदनहरु जस्ताको त्यस्तै पारित गर्दा तत्कालको राजनीतिक समीकरणमा असर पर्ने भन्दै सुझावहरु समेटेर केन्द्रीय कार्यसमितिले प्रतिवेदन पारित गर्नेगरी बैठक समापन गरेका थिए । त्यसयता कांग्रेसले अत्यावश्यक बाहेक नियमित विषयमा छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको थिएन ।
कांग्रेसले महासमिति बैठकमा चुनावमा गठबन्धन गर्नु गलत थियो भन्नेबारे छलफल गरेको र आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गरेको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन नै तोडेका थिए । महासमिति बैठकको छलफलकै कारण सत्ता गुमाएको कांग्रेसले एमालेसँग नयाँ समीकरण बनाएर सत्तामा फर्किएपछि मात्रै महासमिति बैठकका प्रतिवेदनहरु केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको हो ।
महासमिति बैठकमा उपसभापति खड्काले पार्टीको नीति, महामन्त्री थापाले पार्टीको सांगठनिक र अर्को महामन्त्री शर्माले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । महासमिति बैठक २०८० फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको थियो ।
१०० दिने अभियान चलाउने प्रस्ताव
बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ गतेसम्म १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव पेस गरेका छन् । त्यस्तै, अनुशासनको कारबाही, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ति, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति गठन, क्रियाशील सदस्यता वितरण, जनसम्पर्क समिति, नियमावली संसोधन लगायत समसामियक राजनीतिक प्रस्तावहरु पेस भएका छन् ।
बैठकले बुधबार भएको हेलिकप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा ५ जनाको निधन भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
बुधबार बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सरकारका कामकारबाहीबारे जानकारी गराएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति र कार्यान्वयनबारे जानकारी गराएका थिए ।
त्यस्तै, परराष्ट्र मन्त्री आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल, लेवनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएकी थिइन् ।
बुधबारको बैठकमा नेताहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, गोविन्दबहादुर शाह र सीतादेवी देवकोटाले धारणा राखेका छन् ।
अर्को बैठक बिहीबार दिउँसो १ बजे पुन: बस्ने छ ।













