"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १७:००


काठमाडौँ– फ्रान्सको पेरिसमा सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक खेलकुद आइतबार समापन भएको छ। ओलम्पिकमा १० हजार ५०० भन्दा बढी खेलाडी सहभागी थिए। जुलाई २६ देखि अगस्ट ११ सम्म भएको खेलमा ३२९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

यसपटकको ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्य पदकसहित शीर्ष स्थानमा रहन सफल भयो।  चीन ४० स्वर्ण, २७ रजत र २४ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो भने  २० स्वर्णसहित  जापान तेस्रो र १८ स्वर्णसहित अस्ट्रेलिया चौथो स्थानमा रहेका छन्।

ओलम्पिकमा ६२ देशले कम्तीमा एउटा स्वर्ण पदक जित्न सफल भएका छन्। यसैगरी ८४ देशले कम्तीमा एउटा कास्य पदक जित्न सफल भए।

नेपालले पेरिस ओलम्पिकमा ६ खेलमा भाग लिएर सात खेलाडी पठाएको थियो। नेपाली खेलाडी सहभागितामा मात्र सीमित भए। उनीहरूमध्यै कुनै खेलाडीले पनि पहिलो चरण पार गर्न सकेनन्। पौडी खेलबाट संन्यास लिएका पौडीबाज एलेक्स शाहले भने आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न सफल भएका छन्।

ग्रीष्मकालीन ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन यस प्रकार छ :

स्यान्टु श्रेष्ठ : टेबलटेनिस

प्रतियोगितामार्फत ओलम्पिकमा छनोट हुने स्यान्टु नेपालका एकमात्र खेलाडी हुन्। ओलम्पिकमा उनको प्रदर्शन गतिलो रहेन। उनी सेनेगलका इब्राहिमा डायवसँग सोझो सेटमा पराजित भएका थिए। सात सेटको खेलमा स्यान्टुले १२-१०, ११-३, ११-४ र ११-५ ले हारेका हुन्। खेल २४ मिनेट मात्रै भएको थियो।

सुस्मिता नेपाल : सुटिङ

१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६० सटबाट कुल ६०७.८ अंक जोडिन्। उनी १९ औँ एसियाली खेलकुदको छनोट कार्यक्रममा बनाएको ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान तोड्न पनि असफल भइन्।

मनिता श्रेष्ठ प्रधान : जुडो

मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिकमा ५७ वर्षमुनिको विधामा प्रतिस्पर्धा गरेकी थिइन्। उनी आफ्नो पहिलो खेलमा १ मिनेट २ सेकेन्डमा सर्बियाकी मारिका पेरिसिकसँग १०-० स्कोर अन्तरले बाहिरिएकी थिइन्।

एलेक्स शाह : पौडी

एलेक्स शाहले पेरिस ओलम्पिकमा पुरुषतर्फको १०० मिटर फ्रिस्टाइल प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। उनले ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका छन्। एलेक्स ५१.९१ सेकेन्डसहित आफ्नो हिटमा तेस्रो स्थानमा रहेका हुन्। उनले २०२४ मा दोहामा भएको विश्व एक्वाटिक्स  च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए। ओलम्पिकमा एलेक्स ७९ पौडी खेलाडीमध्ये ५९ औँ स्थानमा छन्। सेमिफाइनलमा शीर्ष १६ खेलाडी मात्र पुगेका थिए।

प्रिन्स दाहाल : ब्याडमिन्टन

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित भएका थिए। उनी पहिलो खेलमा डेनमार्कका विश्व नम्बर २ भिक्टर एक्सेलसनसँग २१-८ र २१-६ ले पराजित भएका थिए। यसैगरी दोस्रो खेलमा प्रिन्स आयरल्यान्डका विश्व नम्बर ४३ न्हाट गुयेनसँग २१-७ र २१-५ ले पराजित भए। समूह चरणको अन्तिम खेलमा उनी इजरायलको विश्व नम्बर ५८ मिसा जिल्बरम्यानसँग २१-१२ र २१-१० ले पराजित भए। ओलम्पिकमा ब्याडमिन्टनमा नेपालका तर्फबाट यो पहिलो सहभागिता थियो।

दुआना लामा : पौडी

दुआना लामा पेरिस ओलम्पिक २०२४ मा महिलातर्फ २०० मिटर फ्रिस्टाइलमा ३० औँ स्थानमा रहिन्। ३१ प्रतियोगीमध्ये हंगेरीकी निकोलेट पदार अयोग्य घोषित भएकाले लामा ३० औँ भएकी हुन्। दुआनाले २ मिनेट २०.७४ सेकेन्डमा दुरी पूरा गरिन् जुन उनको यसअघिको २ मिनेट १२.४६ सेकेन्डभन्दा धेरै बढी हो।

सन्तोषी श्रेष्ठ : म्याराथन

महिला म्याराथनमा सन्तोषी श्रेष्ठ ७९ औँ स्थानमा रहिन्। उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ६ सेकेण्डमा पूरा गरेकी थिइन्। यसका लागि सन्तोषी ले यस वर्षको सुरुमा ढाकामा बनाएको २ घण्टा ४६ मिनेट २३ सेकेन्डको राष्ट्रिय कीर्तिमानभन्दा झण्डै सात मिनेट बढी समय लिएकी थिइन्। ९१ जना धावकमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन्। सातौँ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श सुरु गरेका छन् । प्रधानमन्त्री तथा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। १८ सदस्यीय नेपाली टोलीको