भ्रष्टाचार विधेयकमा पाँचवर्षे हदम्यादको प्रस्ताव हट्यो
काठमाडौँ – भ्रष्टाचार निवारण विधेयक, २०५९ मा प्रस्तावित भ्रष्टाचारमा पाँचवर्षे हदम्यादको व्यवस्था हटाउने विषय राज्य व्यवस्था तथा सुशासन समितिले टुंग्याएको छ। शुक्रबार बसेको समितिको बैठकले हदम्यादको प्रस्ताव हटाउने विषयमा सर्वसम्मत निर्णय गरेको हो।
समितिको छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले पाँचवर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका थिए। सरकारका तर्फबाट सरकारले नै गरेको प्रस्ताव फिर्ता लिन तयार रहेको बताएपछि सांसदहरूले धन्यवाद दिएका थिए।
विधेयकमा रहेको पाँचवर्षे हदम्यादको विषय पेचिलो थियो। समिति सभापति रामहरि खतिवडाले भने, ‘भ्रष्टाचार निवारण विधेयकको दफा १६ मा रहेको भ्रष्टाचारमा पाँचवर्षे हदम्याद हटाउने विषय सर्वसम्मतले पारित भएको घोषणा गर्दछु।’ अबको छलफल यसबाहेकका विषयमा केन्द्रित हुने सभापतिले बताए।













