"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गैरआवासीय नेपालीका मागप्रति सरकार संवेदनशील

प्रकाशित मिति :  28 March, 2022 1:52 pm


ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घका मागप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको १०औँ विश्व सम्मेलनको आइतबार समापनका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नेपालको संविधानले अर्थ, उद्योग र वाणिज्य नीतिअन्तर्गत गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने कुरालाई प्राथमिकताका साथ उल्लेख गरेको औँल्याउनुुभयो । प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरूको लगानीलाई मुलुकको समृद्धि र नवनिर्माणको काममा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरिरहेको बताउनुभयो । प्रधानमन्त्री भन्नुभयो, ‘‘ती नीति तथा नियमहरूलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैरआवासीय नेपालीहरूले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गरिने छ ।’’

उहाँले मुलुकको तीव्र रूपान्तरण र दिगो विकासका लागि आधुनिक र गुणस्तरीय भौतिक पूर्वाधारहरूको निर्माण हुन आवश्यक भएकाले वर्तमान अवस्थामा मुलुकमा ठूला विद्युत् आयोजना, सडक, टनेल लगायतका परियोजनाहरू कार्यान्वयन गर्न पुँजी र प्रविधि दुवैको उच्च खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो खाँचोलाई पूर्ति गर्न गैरआवासीय नेपाली सङ्घले पूरकको भूमिका निर्वाह गर्नसक्छ भन्ने कुरामा सरकार विश्वस्त छ । विश्वभर छरिएर बसेका नेपालीहरूको असङ्गठित पुँजी र प्राविधिक ज्ञानलाई सङ्गठित र एकत्रित गरी मुलुकको आर्थिक विकासमा परिचालन गर्न अब गैरआवासीय नेपाली सङ्घले निश्चित कार्ययोजना र रणनीति नै बनाएर अघि बढ्नुपर्ने अवस्था देखिएको छ ।’’


सङ्घले २०७२ सालको महाभूकम्प र कोभिडको महामारीका बेला नेपाल र नेपालीलाई गरेको सहयोगको उहाँले सराहना गर्नुभयो । प्रधानमन्त्री देउवाले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्नसमेत सङ्घले उपयोगी सेतुको काम गरेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गैरआवासीय नेपालीहरूको जायज माग पूरा गर्नका लागि नेपालका सबै राजनीतिक दल एक ठाउँमा रहँदै आएको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप र क्षमतालाई नेपालको समृद्धिमा लगाउन आग्रह गर्नुभयो । काँग्रेस महामन्त्री गगनकुमार थापाले विदेशमा बसेका नेपालीहरूको ससानो पुँजीलाई नेपाल भिœयाएर गाउँगाउँमा साना व्यवसाय तथा उद्यमशीलताको विकास गर्ने नीतिको खाँचो रहेको बताउनुभयो ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गैरआवासीय नेपालीको लगानी भिœयाउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने तथा कुमार पन्तले विदेशमा रहेका नेपालीहरू नेपाल र नेपालीको समृद्धिका लागि हातेमालो गर्न तयार रहेकाले त्यही अनुरूप लगानीको वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो ।

सम्मेलनले ललितपुर घोषणा पत्र पनि जारी गरेको छ । घोषणापत्रमा भावी दिनमा सङ्घ सधैँ नेपाल र नेपालीलाई आइपर्ने जुनसुकै विपत्तिमा नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । त्यसैगरी संविधानमा भएको नागरिकताको विषयलाई सङ्घीय कानुन निर्माण गरी छिटोभन्दा छिटो गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

विदेशमा रहेर आर्जन गरेको पुँजी, ज्ञान तथा सीपलाई नेपालमा लगाउन गैरआवासीय नेपाली तयार रहेको भए पनि लगानी गर्ने सहज वातावरण निर्माण गर्न माग पनि घोषणा पत्रमा गरिएको छ । नेपालमा लगानी गर्नका लागि सङ्घले १० अर्बको कोष स्थापना गर्न लागिरहेको बताउँदै सो कोष स्थापनाका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था तत्काल गरिदिन नेपाल सरकारसँग माग गरेको छ । विदेशमा बसेका नेपालीबाट भित्रिएका रेमिटेन्सबाट नेपालको आर्थिक विकासमा ठूलो टेवा पुगेको कुरा उल्लेख गर्दै रोजगारीका लागि विदेशिने नेपाली कामदारको उच्च मूल्याङ्कन हुनुपर्ने, उनीहरूलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने कुरा पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — कांग्रेसले सर्वसम्मतिबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले सोमबार जसरी पनि दलको नेता चयन

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो

काठमाडौं – सरकारले स्थानान्तरण गरिने सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने भएको छ । शनिबार बिहानदेखि सरकारले थापाथली, गैरीगाउँ