"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हरितालिका (तीज) पर्व धुमधाम मनाईदै

प्रकाशित मिति :  २१ भाद्र २०८१, शुक्रबार १२:५९


काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा रहुन्जेल खुला गरिने जनाइएको छ ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड देखिन्छ । बिहान केही समय वर्षाले दर्शनार्थी प्रभावित भए पनि अहिले सहज रूपमा दर्शन एवं पूजा आराधना गरिरहेको उनले बताए । पानी रोकिएसँगै पशुपति क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लागेको छ ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चारवटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउने गरी सबै व्यवस्था गरेको जनाएको छ । बर्तालुको भीडलाई ध्यान दिँदै कोषले आज विशेष पूजाका लागि रसिद काटेको छैन ।

कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले जानकारी दिए ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्नेगरी व्यवस्था मिलाइएको छ । बर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन् ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चारवटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको छ ।

तेस्रो लाम गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिएको छ । चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ । पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविरको सेवा दिएका छन् ।

हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा बर्तालु महिला, पुरुषको भीड लागेको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

काठमाडौं । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् ।  आइतबार

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी