"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावी गठबन्धनको पक्षमा प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  १४ चैत्र २०७८, सोमबार २१:५६


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सैद्धान्तिक रुपमा सत्तारुढ गठबन्धनसँग चुनावी गठबन्धनको पक्षमा उभिने भएको छ । गठबन्धनको मोडालिटीबारे भने पार्टीको कार्यसम्पादन समितिबाट निर्णय गर्ने नेताहरु बताउँछन् ।

चुनावी गठबन्धनको पक्षमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा तीन दिन छलफल गराए । केन्द्रीय समितिमा देउवा पक्षको स्पष्ट बहुमत छ र सोमबारको बैठकमा देउवा पक्षका नेताहरु खुलेर गठबन्धनको पक्षमा उभिए ।

प्रधानमन्त्री समेत रहेका देउवा स्वयंले पनि चुनावी तालेमल गरेर जानुपर्ने मत राखेका छन् । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ,’ २०७४ को आम चुनाव स्मरण गर्दै देउवाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा भनेका छन्, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको थियो । भरतपुर महानगरकी मेयर रेनु दाहाल स्वयं कांग्रेसको समर्थनमा जितेकी हुन् । तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर वाम गठबन्धन बनायो ।

अहिले चुनावी गठबन्धनको विपक्षमा रहेका कांग्रेस नेताहरुले त्यो धोका भुल्न नहुने बताएका थिए । तर देउवाले विगत बिर्सन आग्रह गरेका छन् । विगतमा माओवादीले आफूलाई समेत गोली हानेको भन्दै उनले पुराना कुरा भुलेर माओवादी केन्द्रसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस सभापति देउवाले आसन्न स्थानीय तहमा मात्र होइन, आगामी प्रदेश र संघको निर्वाचनसम्म चुनावी गठबन्धन गर्ने स्पष्ट संकेत गरेका छन् । गठबन्धन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने र फेरि प्रधानमन्त्री हुने चाह उनले लुकाएका छैनन् । उनले शनिबार मात्र एक सार्वजनिक मञ्चबाटै भनेका छन्, ‘प्रचण्डले हार्ने चुनाव लडछन् ? जहाँ सजिलो हुन्छ, मिल्छन् ।’

अर्थात कांग्रेसले गठबन्धन गरेन भने माओवादीले २०७४ मा जस्तै फेरि नेकपा एमालेसँग गठबन्धन गर्छ । त्यो अवस्थामा उनीहरुले नै पहिलो शक्ति हुने र सरकार बनाउने सम्भावना हुन्छ । त्यसलाई रोक्न र आम चुनावपछि फेरि प्रधानमन्त्री हुन पनि देउवा माओवादी केन्द्रलाई एमालेतिर जान दिने पक्षमा छैनन् ।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छ । वरिष्ठ नेता पौडेलले सोमबारको बैठकमा सभापति देउवा भन्दा अघि बढेर गठबन्धनको पक्षमा अभिव्यक्ति दिएका छन् । नेकपा एमालेलाई साइजमा राख्न तथा केपी शर्मा शर्माको दम्भलाई परास्त गर्न माओवादी र एकीकृत समाजवादीलाई चिढ्याउन नहुने पौडेलको तर्क छ ।

‘ओलीलाई थप बलियो बनाउने काम गर्नहुन्न । बरु प्रचण्ड–माधवलाई अलिअलि मत थपेर कांग्रेसले सहयोग गर्नुपर्छ’, एक केन्द्रीय सदस्यका अनुसार पौडेलले भनेका छन्, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ लिएर भएपनि ओलीलाई साइजमा राख्नुपर्छ ।’

शेखर – गगन अडान

केन्द्रीय समितिमा संस्थापन पक्ष बलशाली छ । वरिष्ठ नेता पौडेलको समेत साथ पाएकाले देउवाको चाहे अनुसार चुनावी गठबन्धनको पक्षमा निर्णय हुन्छ भन्ने डा. शेखर कोइराला समूहले राम्ररी बुझेको छ । तर सोमबारको बैठकमा डा. शेखर र महामन्त्री गगनकुमार थापा दुबैले तामलेमको विपक्षमा मत राखेका छन् ।

नेता डा. कोइरालाले पार्टीको आन्तरिक एकता कायम गर्न सकियो भने कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने बताए । त्यसका लागि मंसिरमा भएको महाधिवेशनका कारण दुईतिर विभाजित भएको भावनालाई एकीकृत गराउनुपर्ने शेखरको तर्क छ ।

‘गठबन्धन कोसँग ? किन ? के का लागि गर्ने ?’ केन्द्रीय समिति बैठकमा उनले भने, ‘गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिले तलैबाट पार्टीभित्र एकता र सहकार्य गरौं ।’ माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने गठबन्धनले परिणाम नदिने उनको विश्लेषण छ ।

शेखर समूहबाटै महामन्त्री जितेका थापाले पनि आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । ‘देशभरमा लाखौं नयाँ मतदाता छन् । उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो,’ थापाले केन्द्रीय कार्यसमितिको बैठकमा भनेका छन्, ‘अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हसिँया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

स्याङ्जा – गल्याङ नगरको शैक्षिक उन्नयन र बिकासका लागि सरोकारवालाहरुको बिचमा ‘शैक्षिक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । गल्याङ नगरपालिका