"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुख्य योजना सात दिन भित्र पेश गर्न अर्थमन्त्री शर्माको निर्देशन

प्रकाशित मिति :  31 March, 2022 12:21 pm


काठमाडौं । आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माण प्रकृया अघि बढाएको अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ । सो छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्ने बारेमा सात दिन भित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्देशन दिनुभएको छ ।
उहाँले प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने टुक्रे योजनासमेत संघीय बजेटमा राख्ने र काम नगर्ने प्रवृत्ति देखिएको भन्दै संविधानले निर्दिष्ट गरेको व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहले कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ‘मुलुकले संघीय प्रणाली अपनाएपछि केही अधिकारहरु बाँडफाँड भएको छ, यो संविधानमा लेखिएको छ । त्यसलाई पढौं’ उहाँले भन्नुभयो, ‘संविधानमा एउटा व्यवस्था छ तर हामीले अर्कै गरेका छौं । यो भनेको संविधानको उल्लंघन हो । प्रदेश र स्थानीय तहलाई उनीहरुको काम गर्न दिऊँ ।
उहाँले साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउँदा संघीय निकायलाई नै सजिलो हुने भन्दै भन्नुभयो, ‘मठ मन्दिर संघले किन बनाउनुप¥यो ? स्थानीय तहले बनाइहाल्छ नी । उसलाई नै बजेट दिऊँ ।’ सबैको चाहनाले संघीयता आएको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
संघीय मर्मअनुसार कस्ता परियोजना छनौट गर्ने, कुन कार्यक्रम राख्ने, नीति कस्तो बनाउनेलगयतका बिषयमा सात दिन भित्र सबै मन्त्रालयलाई कार्ययोजना पेश गर्न उहाँले निर्देशन दिनुभयो । ‘ के गर्दा स्रोत साधनको थप उपयोगिता बढाउन सकिन्छ, संघीय मर्मअनुसार बजेटमा के कस्तो नीति बनाउन सकिन्छ भन्ने बारे मन्त्रालयको आ–आफ्नो कार्यप्रकृतिअनुसारको कार्ययोजना मलाई सात दिन भित्र दिनुस्’ उहाँले भन्नुभयो, ‘त्यसपछि संक्षिप्तीकरण गरी बजेट बनाउन सजिलो हुन्छ ।’
उहाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई देशभरको विद्यालय र विद्यार्थी संख्या तथा अब भर्ना हुन सक्ने विद्यार्थीको अनुमानित विबरणसहितको नक्साकन पनि एक हप्ता भित्र उपलब्ध गराउन निर्देशन दिनुभयो । संस्था सबलीकरण गर्न बजेट बिनियोजन गरी अनुसन्धान गर्न पनि उहाँको सुझाव थियो ।
कृषि मन्त्रालयले पर्याप्त मात्रामा उन्नत जातको बिउ बिजन किसानहरुलाई बितरण गर्दा धान, चामल आयात नै गर्न नपर्ने स्थिति देखिएको भन्दै आयात प्रतिस्थापनको कार्ययोजना पेश गर्न निर्देशन दिनुभयो । ‘हामीले यो बर्ष पर्याप्त मात्रामा उन्नत जातको बिउ किसानलाई दियौं भने आगामी बर्ष धान, चामल नै आयात गर्न नपर्ने गरी फल्ने रहेछ । यसका लागि अर्थले कति बजेट दिनुपर्ने हो, दिन्छौं’ उहाँले भन्नुभयो, ‘हामीले आयात प्रतिस्थापनको काम गर्न अब ढिला गर्नु हुँदैन ।’ उत्पादन र रोजगारी वृद्धिका माध्यमबाट आर्थिक समृद्धि केन्द्रित बजेटमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले राष्ट्रिय गौरब र गेम चेन्जर आयोजनाको प्रगति प्रति निराशा व्यक्त गर्नुभयो । ‘राष्ट्रिय गौरबको आयोजनाको निर्माण धेरै सुस्त भयो । यसको परिभाषा नै बदल्नुपर्ने भयो । नाम फास्ट ट्रयाक भनेको छ तर काम स्लो ट्रयाकमा भएको छ । जसकारण समय र लागत धेरै महँगो हुन गएको छ’ उहाँले भन्नुभयो, ‘त्यस्तै हामीले केहीलाई गेमचेन्जर आयोजना भनेका छौं तर के चेन्ज भयो कसैलाई थाहा छैन । अब त नामको पनि औचित्य पुष्टि गर्नुपर्ने स्थिति आइसक्यो ।’
मन्त्री शर्माले सबै मन्त्रालय र निकायलाई चालू खर्च घटाउने योजना पनि पेश गर्न पनि निर्देशन दिनुभएको छ । चालू आबमा साधारण खर्च १० खर्ब ६५ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले आगामी आबको बजेटलाई अहिलेको भन्दा धेरै रुपान्तरण गरी तयार गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले आर्थिक अनुशाशन र सिमित स्रोत साधनको सिमा भित्र रहेर बजेटका कार्यक्रम पेश गर्न सुझाव दिनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको