"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार संसद्सँग तर्केर हिँडिरहेको सभामुख घिमिरे आरोप

प्रकाशित मिति :  25 December, 2024 10:26 pm


काठमाडौँ – सभामुख देवराज घिमिरेले सरकार संसद्‍बाट तर्केर हिँडिरहेको बताएका छन् । आफूलाई समस्या नपरेसम्म वा संसद्‍बाट कानुन निर्माण गर्नैपर्ने अवस्था नआएसम्म सरकार तर्केर हिँड्ने गरेको उनको भनाइ छ । 

संसद् सचिवालयले भक्तपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सहभागीहरूको प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा सरकार संसद्‍बाट तर्किइरहेको महसुस भएको बताएका हुन् । ‘एउटा गम्भीरताका साथ महसुस गरेको कुरा के हो भने संसद् सरकार जन्माउने आमा हुन्, जननी हुन् तर आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, यसलाई बाइकट गरेर जाने बाटा खोज्ने, तर्सिने अथवा तर्किने आदि जे गरेर हिँडिरहेको छ, यो बेठिक छ,’ सभामुखले भने ।

सरकारलाई संसद्प्रति जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट पहलकदमी हुनुपर्ने सभामुख घिमिरेको भनाइ थियो । ‘यसलाई वास्तवमा आमाले जन्माएको सन्तान आमाप्रति माया गर्ने खालको कसरी बनाउने र त्यो सन्तानले आफ्ना आमाबाबुप्रतिको जिम्मेवारी निर्वाह गर्ने कसरी बनाउने ?,’ उनले भने ।

संसदीय व्यवस्था रहेका मुलुकहरूमा सरकारहरूले संसद्लाई छल्ने प्रचलन रहेको पनि सभामुख घिमिरेको भनाइ थियो । ‘हाम्रो सन्दर्भमा अझै पनि कार्यकारी प्रमुखको रूपबाट रहेको सरकार व्यवस्थापिका संसदप्रति पूर्ण रूपबाट जवाफदेही भएर चल्नको लागि सभामुखको भूमिका दलीय हिसाबबाट अन्य हिसाबबाट यसरी जानुपर्छ भन्ने कुराहरूलाई मैले गम्भीरताका साथ लिएको छु । एउटा सभामुखले खेल्ने रोलको कुरा भयो,’ सभामुखले भने, ‘तर, संस्थाका रूपमा यो संसद्लाई न्यायपालिका पनि कार्यपालिका पनि यो संसद् अथवा व्यवस्थापिकाप्रति जिम्मेवार बन्नका लागि के गर्नुपर्ला यसको बारेमा अझै गम्भीर हुन जरुरी छ ।’

सभामुख घिमिरेले आफूले बारम्बार भन्दै आएको कुरा स्मरण गरे, ‘म एउटामात्रै कुरा भन्दै आइरहेको छु र भन्छु, मैले नबुझेको पनि कुरा त्यो के हो भने सरकार त अप्ठ्यारो नपरेसम्म संसद्सँग आएर मिलेर काम गर्न सकभर चाहँदैन, आफ्नो ढंगबाट काम गर्न चाहन्छ । अप्ठ्यारो परेपछि अनि यसको साथसहयोग, कानुन आदि चाहेपछि आउने प्रवृत्ति छ ।’

सभामुख घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको पनि बताए । लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्ने र त्यसका लागि सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक रहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे