"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

श्रमको सम्मान नगरी भौतिक विकासले गति लिँदैन : राष्ट्रपति पौडेल

प्रकाशित मिति :  31 December, 2024 12:55 pm


काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउन जोड दिएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम संसद्लाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

मुलुकको विकास आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतसाधन र पुँजीको परिचालन श्रमजीवी वर्गले गर्ने बताए।
‘श्रम र पुँजी सँगै अघि बढाउन आवश्यक छ। त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो’, उनले भने।

आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको पौडेलले स्मरण गरे।

‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्छ’, राष्ट्रपति पौडेलले भने।

यसै वर्ष जुनमा जेनेभामा सम्पन्न ग्लोबल कोलिसन फर सोसियल जस्टिससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका श्रमिकलाई सम्बोधन गर्दा पनि आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उनले स्मरण गरे।

राष्ट्रपति पौडेलले नेपालका श्रमजीवीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हकका रुपमा रहन पुगेको बताए। ‘नेपालमा सबैभन्दा ठूलो श्रमिकहरूको संख्या कृषि क्षेत्रमा रहेको हुनाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ’, उनले भने।

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रूपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए। राष्ट्रपति पौडेलले अजरबैजानको बाकुमा सम्पन्न कोप २९ मा आफूले विश्वका औद्योगिक तथा विकसित मुलुकले गरेको उच्चतम कार्बन उत्सर्जनको मार हाम्राजस्ता देशहरू जस्को कार्वन उत्सर्जनमा कुनै भूमिका छैन तर उच्च जोखिम बेहोर्नुपरेको विषयलाई प्राथमिकताका साथ उठाएको पनि बताए।

‘यसको असर विश्वका श्रमिक, त्यसमा पनि अनौपचारिक क्षेत्र र खासगरी महिला श्रमिकहरूमा बढी पर्न गएको छ। तसर्थ जलवायु न्यायका लागि सृजित ग्लोबल फन्डको हिस्सा हाम्रोजस्तो पीडित देश र लक्षित श्रमिकसम्म पुर्‍याउने चुनौतीका बीच हामीले आफ्नो दाबी बढाउनुपर्ने देखिन्छ’, राष्ट्रपति पौडेलले भने।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको