"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री

प्रकाशित मिति :  १७ पुष २०८१, बुधबार १०:५५


स्याङ्जा –  यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादितमध्ये ९० प्रतिशत बिक्री भएको उहाँले बताउनुभयो । उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु. ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ  

चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो । गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उहाँले बताउनुभयो ।

विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु. पाँच करोडका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु. २५ देखि अधिकतम रु. ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु. २५ देखि अधिकतम रु. ८५ सम्म कायम भएको छ । 

तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उहाँले बताउनुभयो । उहाँ जिल्लाकै अगुवा सुन्तला किसान हुनुहुन्छ । उहाँ एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु. ६० देखि ७० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ । पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन

काठमाडौं – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तत्कालीन

तुलसीपुर – लुम्बिनी प्रदेश सभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय

स्याङ्जा – गल्याङ नगरपालिकाले गड्यौले मलको उत्पादन सुरु गरेको छ । गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले किसानहरुलाई गड्यौला वितरण