महायज्ञ गर्न भन्दै दलितको घर भत्काइएकोप्रति सांसदहरूको आपत्ति

काठमाडौँ – सांसदहरूले दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनामा दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले एकपछि अर्को गरी दलित समुदायमाथि हिंसाका घटनाहरू हुँदा सरकार र गृहमन्त्री रमेश लेखकले कुनै कदम नचालेको आरोप लगाए। उनीहरूले महायज्ञ गर्न गाउँपालिका अध्यक्षकै संलग्नतामा दलितको घर नै भत्काइएको घटनाले नेपाली समाजलाई लज्जित बनाएको बताए।
बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा त्यहाँ बसोबास गरिरहेका डोम समुदायका व्यक्तिहरूलाई उठिवास लगाइएकोमा आपत्ति जनाए। उनले गाउँपालिका अध्यक्ष र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्षको संलग्नतामा डोम समुदायलाई उठिवास गर्ने काम भएको भन्दै दोषीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे।
‘औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम भएकोमा घोर भर्त्सना गर्दछु,’ उनले भने।
सांसद अमरेशकुमार सिंहले महिला र दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न माग गरे। सांसद सिंहले देशभर हत्या र हिंसाका घटनाहरु बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको भन्दै यही सरकारको पालामा किन यस्तो भइरहेको छ ? भन्दै प्रश्न समेत गरे। उनले मधेश प्रदेशमा दलितमाथि भइरहेको दमनका विरुद्ध प्रदेश सरकार नबोल्नु सत्ता बाँडफाँड त होइन ? भन्दै आशंका समेत व्यक्त गरे।
नेकपा एमालेकी सांसद सांसद सम्झना थपलियाले गृहमन्त्री रमेश लेखकलाई दलितविरुद्धका घटनाहरू रोक्न कुनै कदम नचालेको आरोप लगाइन्। बैठकमा सांसद थपलियाले सभामुखमार्फत् गृहमन्त्रीसँग सोधिन्, ‘गृहमन्त्रीलाई यस्ता घटनामा चासो हुँदैन? तपाईँ गृहमन्त्री दलित विरोधी हो? यसरी कसरी संघीय लोकतन्त्र बलियो हुन्छ?’
उनले संसदीय छानबिन समिति गठन गर्न समेत माग गरिन्। अर्का सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि ज्यादती बढ्दै भन्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे। उनले भने, ‘दलितप्रति भएका ज्यादतीले सगरमाथा भन्दा ठूलो टाकुरा बनिसकेको छ। दलितहरूले न्याय खोज्न कहाँ जाने?’
सांसदहरू मनिष झा, अब्दुल खान, अशोककुमार चौधरी र प्रभु हजारा लगायतले पनि सिरहामा भएको उक्त घटनाको विरोध गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै सिरहाको औरही–५ का दीपक मलिक डोमको गाउँपालिका अध्यक्ष शिवजी यादवसहितको संलग्नतामा गाउँपालिकाकै डोजर प्रयोग गरेर घर भत्काएको र दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको घटना बुधबारै सार्वजनिक भएको छ । तर बिहीबारसम्म पनि दोषीहरूमाथि कुनै कारबाही भएको छैन। उनीहरूलाई प्रहरीले पक्राउसम्म पनि गरेको छैन।