"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विकास साझेदारहरुलाई औपचारिक माध्यमबाट आउन आग्रह

प्रकाशित मिति :  1 July, 2025 8:53 pm


सेभिया (स्पेन) — संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी भई उक्त विषयको ‘राउण्ड टेबल’मा आफ्ना विचार प्रस्तुत गरे ।

आजै प्रधानमन्त्री ओलीले अल्पविकसित र साना टापु भएका मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गरी सम्बोधन गरेका छन् भने ‘राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको पहलमा खानेपानी र सरसफाइ क्षेत्रमा लगानी’सम्बन्धी उच्चस्तरीय छलफललाई सम्बोधन गरे ।

विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ सोचबारे नेपालको स्पष्ट धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरुन् भन्ने सोचका साथ विकास सहायतालाई ‘च्यारिटी’ का रुपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमतावृद्धिका लागि उपयोग गर्दै दिगो शान्ति र विकासका लक्ष्य हासिल गर्न साझा पहल हुनुपर्ने धारणा व्यक्त गरे ।

‘उस्तै किसिमका सानासाना विकास परियोजनाहरू सरकार र गैरसरकारी क्षेत्रबाट समानान्तर रुपमा सञ्चालन गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसरी छरिएको सहायताबाट समतामूलक विकासले गति लिँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारहरु निश्चित च्यानलबाट सहायताका लागि अग्रसर हुनुपर्छ । यस कुरालाई सेभिया–प्रतिबद्धताले पनि हामीलाई उप्रेरित गरेको छ । हामी सबै त्यस बाटोबाट अघि बढौँ ।’

उनले सम्पन्न मुलुकले बोलीमा नभई व्यवहारमा आफ्ना सहयताका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै वास्तवमै जनताको जीवनमा अर्थपूर्ण परिवर्तनका लागि प्रभाव पर्ने क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सेभिया (सेभिल्ला) प्रतिबद्धतालाई पूर्ण र इमानदारीपूर्वक सम्मान गर्न आग्रह गए ।

यसैगरी घरेलु स्रोत परिचालनलाई बलियो बनाउन, निजी लगानीसहित मिश्रित वित्त प्रणालीलाई बढवा दिन, राष्ट्रिय कार्यक्रमहरूमा थप अनुदान र आधिकारिक विकास सहायता (ओडिए) लाई औपचारिक निकायबाट परिचालन गर्न पनि सम्बद्ध पक्षसँग उनले अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनको शक्तिलाई सदुपयोग गर्दै पूर्वाधार निर्माण, पहुँच विस्तारसहित हाम्रा जनताको जीवनस्तर सुधारका पक्षमा साझा सङ्कल्पसहित समग्र विश्व एकहुनुपर्नेमा जोड दिए ।

सेभिया प्रतिबद्धताले हामी सबैलाई आशा र भरोसासहित निष्पक्ष, समृद्ध तर दिगो भविष्य निर्माण गर्ने मौका दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सही वित्तीय विश्लेषणका आधारमा लगानी बढाउँदै गरिबीसँग लड्न, कार्यक्षमता अभिवृद्धि गर्न र दिगो अवसर सिर्जना गर्न एक भई अघि बढ्नुपर्नेमा जोड दिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद