"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परीक्षणमा दुई दिने बिदा बारेमा मिश्रीत बहस

प्रकाशित मिति :  4 May, 2022 11:22 am


काठमाडौँ । सरकारले जेठ महिनादेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि पक्ष र विपक्षमा बहस हुन थालेको छ । तीन महिना परीक्षणका लागि लागू गरिने दुई दिने बिदाले सेवाग्राही झन् मारमा पर्ने भन्दै कतिपयले यसको विरोध गरिरहेका छन् भने सरकारले खर्च कटौती गर्ने भनी ल्याएको योजनाको स्वागत गरेका छन् ।

विरोध गर्नेको तर्क सानो कामका लागि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने र कतिपय कामका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था आउने भन्ने छ । अधिवक्ता लोकेन्द्र ओलीले दुई दिन बिदा दिने सरकारी निर्णयले सेवाग्राहीलाई थप मारमा पार्ने दाबी गर्नुभयो । कार्यालय समयभन्दा एक डेढ घण्टा ढिलो सेवा सुरु हुने र खाजा खाने समय पनि एक घण्टा भएकाले निकै असहज भएको उहाँको अनुभव छ । कार्यालय समय सकिनुभन्दा एक घण्टाअघि काम नहुने गरेको उहाँको भनाइ छ ।

कार्यालय समय अहिले नै निकै असहज रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “१० बजे कार्यालय समय सुरु भए पनि अदालतमा साढे ११, १२ नबजी इजलास सुरु हुँदैन, ४ बजेपछि काम हुँदैन । दुई दिन बिदाले झन् थप पीडा हुन्छ ।” सेवाग्राहीप्रति जिम्मेवार नहुने प्रवृत्तिले प्रक्रिया पुग्दापुग्दै घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, “बिदाले काम चुस्त हुन्छ भन्ने तथ्यगत आधार देखिँदैन ।” पूर्वमुख्यसचिव विमल कोइराला भने बिदाले सेवा प्रवाहमा समस्या नपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समस्या जरामा छ हामीले पातमा देखिरहेका छौँ ।” कर्मचारीको प्रवृत्तिमा सुधार आवश्यक भएकोमा जोड दिँदै उहाँले भन्नुभयो, “सेवाग्राहीले त छ दिन बिदा हुँदा पनि दुःख पाएका थिए । काम नगर्ने हो भने सातै दिन खुला भए पनि हुँदैन ।”

संसारभर हप्तामा ४० घण्टा नै कार्यालय समय हुने गरेको उहाँले उल्लेख गर्नुभयो । दुई दिन बिदाले काम गर्ने समयमा कुनै फरक परेको छैन । नेपालमा हप्तामा छ दिन र पाँच दिन कार्यालय समय रहे पनि हप्तामा ४० घण्टा नै कायम हुन लागेको हो ।

सेवा प्रवाहलाई चुस्त बनाउन सरकारको निगरानी व्यवस्था कडा हुनुपर्नेमा कोइरालाले जोड दिनुभयो । उहाँले हप्तामा पाँच दिन बिदा हुँदा सरकारी खर्चमा पनि कमी आउने भएकाले यसलाई गलत रूपमा बुझ्न नहुने तर्क गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले इन्धन बचतको मुख्य उद्देश्यसहित सरकारले दुई दिन बिदा सुरु गरेको बताउनुभयो । बिदा सकारात्मक भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “तत्काललाई बिदा गर्नु उपयुक्त नै हो । तीन महिना यसको प्रभाव हेरेर थप बढ्नुपर्छ भन्ने हो ।”

सबै पक्षको सुझाव लिएर तीन महिनापछि अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । सबैभन्दा केन्द्रमा सेवाग्राही हुने भन्दै उहाँले भन्नुभयो, “दुई दिन बिदा भइसकेपछि हाम्रो कार्यप्रणाली स्वचालितमा जानुप¥यो । सेवाग्राहीमैत्री संरचना बनाउनुप(यो । सेवाग्राहीमैत्री कार्यप्रणालीको विकास गर्नुप(यो ।”

सेवा प्रवाहमा कर्मचारीमा मात्र समस्या देख्नु गलत भएको उहाँको तर्क छ । अधिकारीले भन्नुभयो, “कर्मचारी आदेशपालक हो । सेवाग्राही पनि सेवा लिन चाँडै जानुपर्ला । सबै जना १२ बजेपछि सेवा लिन जाने १२ देखि ३ बजेसम्म एकदमै भीड हुन्छ, बिहानचाहिँ कर्मचारी खाली हुने अवस्था छ । हरेक कार्यालयले आफूलाई सुधार गर्नुपर्छ ।”

यसअघि २०४७ र २०५६ सालमा पनि हप्तामा दुई दिन बिदा दिने अभ्यास सुरु गरिएको थियो । सेवा प्रवाह सहज नभएको जनगुनासोपछि यो व्यवस्था हटाइएको थियो । त्यस्तै केही सरकारी सेवा बिहान पनि सञ्चालन गरिएकोमा त्यो पनि प्रभावकारी नभएकाले हाल सञ्चालनमा छैन ।

  • गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको