नेपाली भाषा,कला, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल कला तथा संस्कृति महोत्सवका अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर,कला,संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी भाषा,कला र संस्कृतिको विकास,विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर,कला,सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन,अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौं पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए। नेपाली भाषा,कला,संस्कृति र सम्पदा हाम्रो शान,पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ छ।
राष्ट्रपति पौडेलले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशीला तयार हुने आफूले अपेक्षा गरेको जिकिर गरे। नेपाली कला,संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी,विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने उनको विश्वास छ ।













