नेपालको अन्तरिम सरकारलाई सघाउने भारतीय प्रधानमन्त्री मोदीको वाचा
काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्राथमिकता पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीसँग व्यक्त गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतका प्रधानमन्त्रीसँग बिहीवार भएको पहिलो टेलिफोन संवादमा कार्कीले निर्वाचन र युवाहरूको भावनाअनुरूप उत्तरदायी तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था आफ्नो मुख्य प्राथमिकता रहेको बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
“भारतीय प्रधानमन्त्रीले नेपाल सरकारका प्राथमिकताअनुसार पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। टेलिफोन संवादका क्रममा कार्कीले मोदीलाई जन्मदिनको शुभकामना र मोदीले कार्कीलाई “इतिहास रच्दै देशको पहिलो महिला प्रधानमन्त्री” नियुक्त भएकोमा बधाई दिएका थिए। मोदीको जन्मदिन बुधवार थियो।
नेपालमा जेन जी नवयुवाहरूले आह्वान गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति पनि मोदीले दु:ख व्यक्त गरेका थिए। “हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता कायम गर्ने उहाँको प्रयासप्रति भारतको दृढ समर्थन हुने प्रतिबद्धता मैले दोहोर्याएँ,” टेलिफोन वार्तापछि ‘एक्स’मा मोदीले गरेको पोस्टमा भनिएको छ।
नेपालको दक्षिणी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीले शुक्रवारको राष्ट्रिय दिवसको शुभकामना पनि प्रधानमन्त्री कार्कीमार्फत् दिएको नेपालको परराष्ट्र मन्त्रालय र मोदी दुवै पक्षले जनाएका छन्। “राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेको छु,” मोदीले लेखेका छन्। नेपालले संविधानसभाबाट संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ।
भारतीय प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन भारत तत्पर रहेको बताएका थिए। नेपालमा शान्ति र स्थायित्व पुनर्स्थापना तथा नेवाली जनताको समृद्धिका लागि भारतको पूर्ण सहयोग रहने भारतको तदारुकता रहेको आश्वासन मोदीले कार्कीलाई दिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
दुवै नेताहरूले सम्पर्कमै रहने सहमति गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।शुक्रवार नेपालको संविधान जारी भएको १० वर्ष पुग्दै छ। यसअघि नेपालमा नयाँ संविधान जारी हुँदा भारतले “जानकारीमा लिएको” मात्रै विज्ञप्ति जारी गरेपछि नेपालको पछिल्लो संविधानलाई भारतले सकारात्मक रूपमा नलिएको टिप्पणीकर्ताहरूले बताउने गरेका छन्।
टेलिफोन संवादमा दुवै प्रधानमन्त्रीहरूले दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्य र साझेदारी जारी राख्ने प्रतिबद्धता दोहोर्याएका थिए। मोदीले सामाजिक सञ्जालमार्फत् कार्कीलाई यसअघि नै बधाई दिइसकेका थिए। भारतको विदेश मन्त्रालयले पनि कार्कीको नेतृत्वमा बनेको सरकारले शान्ति र स्थिरता प्रवर्धनमा सहयोग पुग्ने आशा व्यक्त गरेको थियो। कार्की प्रधानमन्त्री बनेलगत्तै काठमाण्डूस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेर बधाई दिएका थिए।
- बीबीसीको सहयोगमा













