निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँगको छलफलमा सो कुरा बताएका हुन् ।
युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई राष्ट्रपतिले आग्रह गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनूस्, भ्रष्ट र बदमास जित्न नपाऊन्, असल र इमान्दार जितेर आऊन,’ राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । र, युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।’
राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पारेका छन्।
भ्रष्टचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै यसलाई आन्दोलनको सफलताका रूपमा लिएर फागुन २१ को चुनावमा होमिन पनि राष्ट्रपतिले सबैसँग आग्रह गरेका छन् । उनले भनेका छन्, ‘युवाहरूले जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन भने जरुरी छ।’
प्रधानमन्त्री सुशीला कार्कीले वृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक् प्रयासको प्रशंसा गर्दै ‘राष्ट्रपतिले युवाहरूलाई गरेको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको’ बताइन् । राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर संर्घष गरेको परिपक्क नेता भएको उल्लेख गर्दै उनको भनाइ अन्तष्करणको आवाजका रुपमा लिन पनि प्रधानमन्त्रीले आग्रह गरेकी छन्।
जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक-आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारे ।
बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए । छलफल कार्यक्रममा जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उपार्जुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।













