"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

प्रकाशित मिति :  1 November, 2025 10:35 am


काठमाडौं – खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन्। दसैं तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो। म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने समय भएको छ।

खेतबारीमा रहेको धानकोदो वर्षासँगै हावाहुरीले लडाउँदा उत्पादनमा असर पर्नुका साथै भित्र्याउनका लागि काटेर सुकाएको बाली र नलपराल पानीले भिजेपछि चिन्तित भएको मङ्गला गाउँपालिका–२ रणवाङका कृषक लक्षिन बहादुर मल्लले बताए। मङ्गला गाउँपालिका–२ सिमका कृषक ध्रुब खत्रीले वर्षातका कारण खेतमा पाकेको धान काट्न नपाएको बताए।

गत वर्ष १०० मुरी धान फलाएका खत्रीले यसपाली उत्पादन घट्ने बताए। कतिपय कृषकले काटेको धान खेतमै पानीले भिजेको छ। पानीले खेतमै धान र पराल कुहिने चिन्ता कृषकलाई छ। रोप्ने समयमा पर्याप्त वर्षा भएको, रोग, किरा नदेखिएको र तिहार अघिसम्मको मौसम अनुकुल हुँदा धानको उत्पादन बढ्ने कृषकको अपेक्षा थियो। माथिल्लो क्षेत्रका कृषकले स्थानीय जातको धान दसैँ र तिहारबीचमा भित्र्याएका थिए।

बेसीका खेतमा तिहारलगत्तै धान काट्न थालेका थिए। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। कृषि ज्ञान केन्द्र, म्याग्दीका अनुसार गत वर्ष १२ हजार ९७८   मेट्रिक टन उत्पादन भएको थियो।  

जिल्लामा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे  र छमरुङ, माछापुछ्रे, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गर्दछ। लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती गर्छन्। एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ।

यी क्षेत्र धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन्। धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले बोटमै भएको धानलाई वर्षाले असर नगर्ने बताए।

‘धान काटिसकेको हो भने कुन्यु बनाएर भिज्नबाट बचाउनुपर्छ,’ उनले भने, ‘खेतमै परालसितै भएको धानलाई वर्षा सकिएपछि राम्रोसँग घाममा सुकाएर मात्रै भित्र्याउनुपर्छ।’ धान काट्ने योजनालाई मौसम सुधार नहुँदासम्म स्थगित गर्न केन्द्र प्रमुख बास्तोलाले कृषकलाई अनुरोध गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको