विशेष महाधिवेशनको मागलाई रोक्न मिल्दैन : नेता श्रेष्ठ
काठमाडौँ — नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको बताएका छन्। विशेष महाधिवेशनको मागलाई रोक्न कसैले पनि रोक्न मिल्दैन । यो बाध्यकारी रहेको बताएका छन् । उनी २०१४ सालमा भएको कांग्रेस विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए। त्यसैले विशेष महाधिवेशन पक्षधरले उनकै अध्यक्षतामा आज भेला गरेका हुन्।
उनले विधानअनुसार ५४ प्रतिशतले विशेष महाधिवेशन मागेकोले यो बाध्यकारी भएको पनि बताए। अहिलेकै जस्तो विशेष परिस्थिति आउँछ भन्ने सोचेर आफूसहितले विधानमा त्यो व्यवस्था राखेको उनको भनाइ थियो।
‘२०१४ सालमा सभापतिको प्रस्तावमा गएर विशेष महाधिवेशनबाट सभापति हस्तान्तरण गरेको पार्टी हो यो, आज विशेष महाधिवेशन गरे पार्टी विभाजन हुन्छ भनेर हल्ला गर्ने पदाधिकारीहरू पनि बसिरहेका छन्, उनीहरूको भर नपर्नुस्,’ उनले भने, ‘नयाँ नेतृत्व चुन्नुस्। विधानले विशेष महाधिवेशन नभई छाड्दैन।’
‘विशेष महाधिवेशन माग गर्नेलाई कसैले नक्कली भनेका छन्, जे जे मन लाग्यो त्यो भनेका छन्। विचरा शेरबहादुर देउवाजी हल न चल गरेर बसेका छन्, अरूले लहराले छोपेका छन्। अब लहराको के समस्या छ भने- त्यो बोट भाँचियो भने भुइँमा पर्छु भन्ने डर छ, अहिले अधिवेशनको बाधक यही भुइँमा पर्छु भन्ने डर भएका मानिसहरू हुन्,’ उनले भने।













