"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘हल्कारा’ले पुर्‍याउने छन् घरमै राहदानी

प्रकाशित मिति :  9 May, 2026 10:54 am


काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन्। हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ।

जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता दिन तयारी गरिसकेको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख सरोज पाण्डेयले प्रशासन कार्यालयसितको सम्झौतापछि घरमै राहदानी पुर्‍याउने कामको प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

‘प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि सो प्रयोजनका लागि फारम भर्न थालिसकेका छन्,’ प्रमुख पाण्डेयले भने, ‘अबको दुई सातापछि नयाँ राहदानी जिल्लामा पुग्नासाथ हुलाक कर्मचारी जिल्लाभर वितरण थाल्नेछन्।’

उनले त्यसका लागि कञ्चनपुरका नौवटै पालिकाका हुलाका कार्यालय तयारी अवस्थामा रहेको जानकारी दिए।‘हुलाकका हुलाकी, पत्र वितरक, डाक बाहक, हुलाकी प्रतिनिधि र हल्कारालगायतका पदमा जिल्लाभर ५४ जना कर्मचारी छन्,’ पाण्डेयले भने, ‘प्राप्त भएको राहदानीहरू सेवाग्राहीको घरसम्मै पुर्‍याउने काम हल्कारा (श्रेणीविहीन कर्मचारी)ले गर्नेछन्।’

दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकामा हुलाका कार्यालयमार्फत सेवा प्रदान भइरहेको छ।‘यहाँको कान्छो हुलाक कार्यालय लालझाडीमा स्थापना पछिल्लो समय भयो,’ उनले भने, ‘अब सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास छ।’

सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने सेवा आरम्भ भइसकेको जानकारी दिएको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी