"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक विषयमा सांसदहरूद्धारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  16 June, 2026 9:17 pm


काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउँदै उक्त क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने माग गरे। उनले हुम्लालाई यातायात सञ्जालसँग सहज रूपमा जोड्न सके धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटन उल्लेख्य रूपमा बढ्ने बताउँदै कैलाश मानसरोवर जाने पर्यटकका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताए।

सांसद आशिष गजुरेलले मनसुन सुरु हुन लागेकाले राहत तथा विपद् व्यवस्थापनको तयारीबारे सरकारसँग जानकारी माग गरे। पश्चिम नेपालमा लामो समय सुक्खा र तातो हावा चल्ने पूर्वानुमान सार्वजनिक भएको उल्लेख गर्दै त्यसअनुसार पूर्वतयारी गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए। सांसद साजिदा खातुन सिद्धिकीले गृह मन्त्रालयको पुरानो सर्वेक्षणलाई उद्धृत गर्दै ठूलो संख्यामा युवाहरू लागूऔषध प्रयोगमा संलग्न रहेको तथ्यप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताइन्।

सांसद नरेन्द्रकुमार गुप्ताले सुस्ता नेपाली भूमि भएको भन्दै यसको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्ने बताए। उनले सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले नेपाली नागरिकलाई दुःख दिने गरेको भन्दै आपत्ति जनाउँदै पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य घट्दा पनि नेपालमा समायोजन नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद भूमिका लिम्बू सुब्बाले निजी सञ्चारमाध्यमलाई सरकारी सूचनामा पहुँच नदिने नीतिप्रति आपत्ति जनाउँदै यसले सञ्चार क्षेत्रलाई कमजोर बनाउने र रोजगारीसमेत गुम्ने खतरा रहेको बताइन्।

सांसद जनकराज गिरीले खप्तड क्षेत्र नजिक चट्याङबाट पशुधन र मानव क्षति भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै सचेतना कार्यक्रम सञ्चालन गर्न तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे। सांसद जगदीश खरेलले ग्वार्को-लामाटार-लाँकुरीभञ्ज्याङ सडकखण्डमा कायम गरिएको ६२ मिटर मापदण्डले बस्ती प्रभावित हुने भन्दै त्यसलाई सच्याउन माग गरे। उनले लुभु जस्तो ऐतिहासिक बस्ती संरक्षण आवश्यक रहेको पनि उल्लेख गरे।

सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं. ३ मा जग्गा कारोबारका क्रममा नागरिकले अनावश्यक दुःख भोग्नुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। सांसद आशिका तामाङले धादिङका उज्ज्वल बराल ‘म्यानपावर’ कम्पनीबाट पीडित भएको उल्लेख गर्दै उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरिन्। सांसद ऐनबहादुर महरले जापानमा रोजगारीका क्रममा निधन भएका बझाङका दीपक थानीको शव नेपाल ल्याउन ढिलाइ भएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न माग गरे। सांसद शाहजान खातुनले रौतहट-भारत सीमामा दशगजा मापदण्ड विपरीत संरचना निर्माण भएको भन्दै आपत्ति जनाइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम