"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेल र पूर्वराष्ट्रपति यादवको अपिल

प्रकाशित मिति :  31 July, 2026 10:32 pm


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तराई/मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण घटनाक्रमका विषयमा शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवसँग करिब एक घण्टा परामर्श गरेका छन् । भेटमा दुवै नेताले वर्तमान संवेदनशील परिस्थितिमा सरकारले धैर्य, संयम र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा तराई/मधेसमा देखिएको हिंसा, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले सुनसरीबाट सुरु भई विभिन्न जिल्लामा फैलिएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता जोगाउन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। उनले यसै विषयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग अघिल्लो दिन भएको छलफलसमेत स्मरण गरेका थिए ।

भेटपछि कान्तिपुरसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले नेपालको शक्ति विविधताभित्रको एकता र सद्भाव भएको उल्लेख गरे। ‘हाम्रो देश भौगोलिक रूपमा जति विविध छ, जातीय र धार्मिकरूपमा पनि त्यत्तिकै विविध छ। यही विविधताबीचको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति हो,’ उनले भने ।

हालैका घटनामा तीन नेपाली नागरिकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै यादवले सदियौंदेखि कायम रहेको सामाजिक र धार्मिक सद्भाव कुनै पनि हालतमा खलबलिन नदिन सबैलाई आग्रह गरे । उनले २०७२ सालको भूकम्पदेखि कोभिड–१९ महामारीसम्मका हरेक संकटमा नेपालीहरू एकजुट भएर सामना गरेको स्मरण गर्दै अहिले पनि त्यही एकता र सहिष्णुताको भावना आवश्यक रहेको बताए।

यादवले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत फैलिने अफवाह तथा भ्रामक सूचनाले परिस्थिति थप जटिल बनाएको उल्लेख गर्दै सही र गलत सूचना छुट्याउन सरकारले नागरिकलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याए । ‘सरकारले सबै राजनीतिक दल, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर धैर्य र संयमका साथ समाधान खोज्नुपर्छ,’ उनले भने। राज्यका सबै निकाय र प्रदेश तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले बल प्रयोगभन्दा संवाद र शान्तिपूर्ण उपायलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनले तराई–मधेसमा देखिएको हिंसा सरकारको मात्र समस्या नभई देश र सम्पूर्ण नेपालीको साझा चुनौती भएको भन्दै राष्ट्रिय सद्भाव र एकता कायम गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताए।

भेटका क्रममा राष्ट्रपति पौडेलले पनि वर्तमान परिस्थितिमा सरकार, राजनीतिक दल तथा सबै सरोकारवालाले धैर्यता, संयमता र आपसी सहकार्यका साथ अघि बढे मात्रै सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदीयौँदेखि रहिआएको सामाजिक, धार्मिक,

काठमाडौँ — विहिवार बसेको मन्त्रिपरिषद बैठकले ९ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकपछि सरकार

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै