नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ : सभापति थापा
काठमाडौँ — वर्तमान सरकारले मुलुकमा शासकीय अराजकता ल्याएको प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगनकुमार थापाले बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको सुरुवातमा बोल्दै थापाले सरकारका गतिविधिलाई विधिको सीमा बाहिर लैजान नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार थापाले सरकारले विधि मानेर जानुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीले मेरो गाडी एक्सप्रेस वेमा हिँडेको हो भन्नुभयो । त्यो उहाँको छनोट हो तर लेनभन्दा बाहिर जान पाउनुहुन्न । स्पीड बढाउन पाउनुहुन्छ तर लेनबाहिर जान पाउनुहुन्न । विधिभन्दा बाहिर जान पाउनुहुन्न, शक्ति पृथकीकरणको सिद्धान्त बाहिर जान पाउनुहुन्न,’ सभापति थापाले भने, ‘एक पटक भएमा संयोग हुन्छ, दुई पटक भए संयोग भन्न सकिन्छ तर पटक-पटक त्यही भएमा शासकीय शैलीमा प्रश्न उठ्छ । कार्यपालिकाले आफ्नो सीमा के हो भन्ने मान्दैन । न्यायपालिकाको सीमा पनि मैभित्र पर्छ भन्ने ठान्न थाल्यो । संवैधानिक निकाय मान्दैन । संवैधानिक निकाय आदेश पालक हो ठान्छ । संसद् मान्दैन, संसद् पालक हो भन्ने ठान्न थाल्यो । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ ।’
सरकारले २०४६ यताको सम्पत्ति छानबिन गर्छु भनेर निर्णय गर्ने सरकारले आफ्नै मन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै थापाले प्रश्न गरेका छन् । राहदानी छपाइदेखि अर्थतन्त्रसम्ममा शासकीय अराजकता देखिएको थापाले बताए । ‘पासपोर्टको काण्ड पनि थाहै छ । प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुखलाई सिंहदरबारको कोठाभित्र राखेर थुन्न पाइन्छ ? बन्धक बनाउन पाइन्छ ? संविधानले यो दिन्छ ?,’ थापाले भने, ‘हाम्रो संवैधानिक व्यवस्थामा निर्वाचित सरकार हुन्छ तर त्यसको शक्ति सीमित हुन्छ । नागरिक अधिकार, संवैधानिक संस्थाको अधिकार मिच्न पाउँदैन सरकारले । शक्ति पृथकीकरणको सिद्धान्त मिच्न पाउँदैन ।’
सरकारका मन्त्रीका र रास्वपाका सांसदका अभिव्यक्तिको पनि सभापति थापाले आलोचना गरेका छन् । ‘मन्त्रीले खुट्टा भाँचेको देख्यौं, प्रत्येक दिन सांसदले हप्काएको देख्न पाउँछौ,’ सभापति थापाले भने, ‘यो सरकार बरालिएको छ, यसलाई खबरदारी गरेर ठीक ठाउँमा ल्याउने काम हाम्रो हो । यसबारे छलफल गरौं ।’
सरकार सामाजिक सञ्जालको ‘लाइक’को पछाडि दगुरिरहेको पनि थापाले बताए । ‘सरकार लाइकको पछाडि दगुर्दा लाइफलाई बिर्सिएको छ । दौडिएको दौडियै छ,’ उनले भने ।













