"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कानुनमा हदम्याद हटाउने निर्णय अध्ययनपछि मात्र

प्रकाशित मिति :  7 June, 2022 5:16 pm


काठमाडौँ ।  प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरेको हो । अब विधेयकमा ७२ घण्टासम्म संशोधन दर्ताको समय हुनेछ । हाल माग भइरहेको बलात्कार मुद्दाको हदम्याद हटाउनेलगायतका विषयमा यही चरणमा सांसदहरूले संशोधन दर्ता गर्न सक्नेछन् । 

संसद् अधिवेशन प्रारम्भसँगै जारी अन्य अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेस नभए पनि यौन हिंसाविरुद्धको अध्यादेश प्रतिस्थापनको प्रक्रिया भने अघि बढाइएको हो । अध्यादेशलाई अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र प्रतिस्थापन गरिसक्नुपर्नेछ । 

संशोधन दर्ताका लागि अनुमोदित विधेयकमा अब संशोधनको प्रतिवेदनसहितको विधेयक पुनः प्रतिनिधि सभामा पेस हुनेछ । त्यसपछि सदनले दफाबार छलफलको प्रक्रिया तय गर्नेछ । समिति वा सदनमै दफाबार छलफल गरेर छलफलको प्रतिवेदनसहित विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ । 

विधेयकमाथिको छलफलमा सांसदहरूले बलात्कारसम्बन्धी मुद्दाको हदम्यादबारे पर्याप्त छलफल आवश्यक रहेको बताउनुभयो । छलफलमा भाग लिँदै कांग्रेस सांसद मीन विश्वकर्माले पर्याप्त छलफलबाट मात्र हदम्यादको विषय निष्कर्षमा पुग्न आवश्यक हुने बताउनुभयो । हदम्याद नभएको अवस्थामा दुरुपयोग हुन नहुनेबारे पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

यस्तै एमाले सांसद् गङ्गा चौधरीले हदम्याद हुनुपर्ने बताउनुभयो । केही मुद्दाकै उदाहरण दिएर उहाँले हदम्याद नहुँदा दुरुपयोग हुने धारणा राख्नुभयो । यस्तै सांसद अमृता थापा तथा दुर्गा पौडेलले सर्वपक्षीय अध्ययनबाट हदम्यादबारे निर्णय गर्न उचित हुने बताउनुभयो । 

सांसदका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री कोइरालाले अध्ययनपछि सरकार हदम्यादबारे निर्णयमा पुग्ने बताउनुभयो । पछिल्लो समय हदम्याद हटाउन माग बढेपछि कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिइएको उहाँको भनाइ छ । 

आयोगले अन्तर्राष्ट्रिय अनुभव सर्वोच्चका फैसलासमेत अध्ययन गरेर दिएको प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनको सुधार एउटा परिघटनाका आधारमा मात्र भन्दा समाजको सर्वपक्षीय अध्ययनबाट हुनुपर्छ । हामीले पछिल्लो समय उठेका मागबारे कानुन आयोगलाई अध्ययन गर्न भनेका छौँ । सो प्रतिवेदन आएपछि हामी कुन–कुन कानुन सुधार आवश्यक छ अघि बढ्छौँ ।”

विधेयकमा के छ ?

दुई विधेयकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी विधेयकले प्रमाण ऐन, न्याय प्रशासन ऐन, मुलुकी अपराधसंहिता, मुलुकी फौजदारी कार्यविधिसंहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनका केही व्यवस्था संशोधन गर्नेछ । 

करणी कसुर र तेजाब आक्रमणबाट ज्यान गएमा, अङ्गभङ्ग भए तथा शारीरिक रूपमा क्षति पुगेमा कसुरदारलाई कैद छुट नहुने व्यवस्था अध्यादेशमा उल्लेख छ । अध्यादेशकै व्यवस्था प्रतिस्थापन विधेयकमा पनि निरन्तरता दिइएको हो । यस्तै करणीका मुद्दाहरू मिलापत्र गराएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ । 

प्रतिस्थापन विधेयकमा पनि सोही व्यवस्थालाई निरन्तरता दिइएको हो । यस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले मिलापत्र गराएमा थप छ महिना कैद हुने अध्यादेशमा उल्लेख छ । करणी कसुरका मुद्दामा कसुरदारलाई हुने जरिवाना पनि बढाइएको छ । यस्तै झुटा उजुरी वा बकपत्र गर्नेलाई कसुरदारलाई हुने सजायको आधा कैद हुने व्यवस्था अध्यादेशमा उल्लेख छ । अध्यादेशको व्यवस्था नै प्रतिस्थापन विधेयकमा पनि निरन्तरता दिइएको हो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको