"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसपीपीबारे जवाफ दिन किन पन्छिए प्रधानमन्त्री देउवा ?

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ०८:२६


काठमाडौं ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बैठकमा अनुपस्थित भएपछि आक्रोशित भए। एसपीपीसँगको सम्झौता, अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीतिलगायतका विषयमा छलफल गर्न आइतबारको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो। एसपीपी र अमेरिका भ्रमणको विषयका बारेमा अन्तर्राष्ट्रिय समितिमा आएर बोल्न सहमत भएका प्रधानमन्त्री देउवा एकाएक अन्तिम समयमा आएर सत्ता गठबन्धनको बैठक डाक्न पुगे। 

अन्तर्राष्ट्रिय समितिमा ३ दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीकै विषयमा छलफल गरेको थियो। समितिकी सभापतिसमेत रहेकी पवित्रा निरौला खरेलले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउने कुरा थियो। अन्तिम समयमा सत्तागठबन्धनको बैठक बस्नुपरेकाले आउन नसकेको जानकारी बालुवाटारबाट आयो।’

खरेलले प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित हुनु भनेको लोकतन्त्र र संसदीय समिति प्रणालीको प्रतिकूल भएको विचार व्यक्त गरेपछि बैठकमा विवाद सुरु भएको थियो। सभापति खरेलले समितिको बैठकमा एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? भन्दै बैठकमा ‘एसपीपी पनि एमसीसी जस्तै व्याख्यात्मक घोषणासहित पारित त हुने होइन ? यो हाम्रो मात्र नभई जनताको पनि  आशंका हो।’

एमालेका सांसदहरूले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने मागसमेत राखेका थिए। बैठकले खेद प्रस्ताव भने पारित गरेन। यद्यपि समितिकी सभापति खरेलले प्रधानमन्त्रीलाई फेरि पनि बैठकमा बोलाउँछौं, ‘नेपालमा अमेरिकी सेना आउने भन्दै पनि सबैको मन रोएको छ,’ यो विषयमा हामी स्पष्ट हुन चाहन्छौं प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं।’

सत्तारुढ दल कांग्रेसका सांसद्हरूले भने प्रधानमन्त्रीको व्यस्ततालाई अनर्थ विश्लेषण गर्न नमिल्ने बताएका थिए। सांसद् तथा कांग्रेस सचेतक पुष्पा भुसालले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई लिएर विवाद गर्न नमिल्ने बताएकी थिइन्। भुसालले भनिन्, ‘अमेरिकाको भ्रमणको औपचारिक मिति तय भइसकेको छैन। अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि प्रधानमन्त्रीले सदनमा जानकारी गराउने बताएकाले यसलाई विवादको विषय बनाउन मिल्दैन।’

समितिमा बोल्दै सांसदहरूले संसदीय समितिले बोलाउँदा प्रधानमन्त्री मात्रै नभई राष्ट्रपति पनि जवाफ दिन आउनुपर्ने विषयले निकैबेर चर्चा पायो, सांसद दिव्यमणि राजभण्डारीले भनेका थिए, ‘आवश्यकता परेको खण्डमा राष्ट्रपतिलाई पनि बोलाउन सक्छौं। यो संवैधानिक समिति हो।’ सभापति खरेलले, ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिमा उपस्थित नहुने जानकारी गराउनुभयो। प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो,’ भन्ने निर्णय सुनाएर बैठक सकेकी थिइन्।

समितिको निर्णयमा एमाले नेता भीम रावलले ‘प्रधानमन्त्री समितिमा आउन नसक्नुको कारण प्रष्ट पार्नुपर्ने बताए। रावलले समितिमा आउँछु भनेर बालुवाटारमा ५ दलीय बैठक बस्ने खेद प्रस्ताव गर्नुपर्ने बताएका थिए। रावलले भने, ‘एउटा सम्झौताबाट राष्ट्रियता कमजोर हुने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नआउने गम्भीर विषय हो। सामान्य विषय होइन।’ उनले भने, ‘प्रधानमन्त्री नआउने कुरा र अरू कोही विपक्षी दलको नेता नआउने कुरालाई एउटै विषयमा नियमावलीले राख्दैन।’

एसपीपी सर्वदलीय बैठकमा लगिने

राजनीति वृत्तमा अहिले सबैभन्दा बढी चर्चामा रहेको विषय हो अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)। सदनदेखि सेना हुँदै अन्तर्राष्ट्रिय सम्बन्ध समितिसम्म बहस भइरहेको एसपीपीको विषयमा अब सर्वदलीय बैठक नै बस्ने भएको छ। आइतबार बसेको गठबन्धन दलको बैठकमा यो विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ।

एसपीपीका बारेमा पछिल्लो समय सत्तारूढ दल र विपक्षी दलले व्यापक विरोध गर्दै आएका छन्। विरोधको रूप बढ्दै गएपछि आइतबार पाँच दलीय गठबन्धनको बैठक बसेको थियो। अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलमा बोलाउँदासमेत नगई प्रधानमन्त्रीले गठबन्धन बैठक राखेका थिए। समितिमा प्रधानमन्त्री अनुपस्थितको विरोध भइरहँदा गटबन्धनमा भने यो विषयलाई सर्वदलीय बैठकमा लैजाने विषयमा सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए। भने, ‘नेकपा (एस) एसपीपीको पक्षमा छैन यसमा हामी प्रष्ट छौं। एकअर्कालाई दोषारोपण गर्नुभन्दा बरू सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव अघि बढाएका हौं।’ उनका अनुसार एसपीपी बारेमा प्रधानमन्त्रीले सबैसँग छलफल गरेर अघि बढ्ने बताएका छन्।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबारै सम्पादकसँगको साक्षात्कार कार्यक्रममा सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री समक्ष समसामयिक विषयमा उठेका सामान्य समीक्षात्मक कुराहरू भएको बताए। भने, ‘गठबन्धनको बैठकमा गल्ती कमजोरीहरू आगामी दिनमा नदोहोर्‍याउन भन्ने विषयमा छलफल भयो। पाँच गठबन्धन दलको पूर्ण बैठक गर्ने निर्णय भएको छ। त्यहाँ पनि एसपीपीलगायतका विषयमा छलफल हुनेछ। गठबन्धन जोगिनुपर्छ भन्ने विषयमा प्रधानमन्त्रीजी पनि सकारात्मक हुनुहुन्छ।’ गठबन्धन बैठकमा एसपीपी र अमेरिका भ्रमणबारे सुरुदेखि के–के हुन्छ भन्नेबारे चासो राखेको नेपालले बताए। भने, ‘विदेशी राष्ट्रसँग कुनै पनि अनुचित सम्झौता नहोस् भन्ने कुरामा हामी सँगै प्रधानमन्त्री सजह हुनुहुन्छ।’

सत्तागठबन्धनको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका बखत बाहिरी व्यक्तिलाई घुसाएको कारण सर्वत्र विरोध भएकाले शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउनु पर्ने कुरा पनि उठेको गठबन्धनमा सहभागी एक नेताले बताए। ती नेताले भने, ‘पर्यटनमन्त्री प्रेम आलेको कुरा के हो ? भनेर प्रधानमन्त्रीले नै माधव नेपालजीलाई सोध्नु भएको थियो। प्रधानमन्त्रीजीले चुनावको मुखमा भएकाले मन्त्रिपरिषद् हेरफेर नगरौं भन्ने हो। तर, साथीहरूले एकपछि अर्को काण्ड बनाउँदै जानुभएको छ। अब मन्त्रिपरिषद् हेरफेर पनि गर्नुपर्छ। चुनाव नबिथोल्ने र गठबन्धनलाई सहयोग पुग्ने खालका व्यक्तिको नाम सिफारिस गर्नुस्।’ भनेर पनि बैठकमा कुरा उठाएको ती नेताले नाम नबताउने सर्तमा भने। 

एसपीपीको विषयमा प्रधानमन्त्रीको धारणाका विषयमा बोल्दै ती नेताले भने, ‘एसपीपीको विषयमा बृहत् छलफल गरेरै सल्लाह सुझावमै अघि बढ्ने र अहिले कुनै तयारी छैन भन्नुभयो।’ नेता नेपालले पनि केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए।

नेता नेपालले सम्पादकसँगको छलफलमा भने, ‘मन्त्रीहरू फेरबदलको विषयमा नेकपा एसले निर्णय गरिसकेका छौं। हामीले भनिसकेका छौं अहिलेका मन्त्रीहरूलाई ६ महिनाका लागि मात्रै पठाएका हौं भनेर आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘हामी पहिले हेरफेर भएको भए पनि पनि तयार थियौं मन्त्री फेरबदलमा  ढिलाइ भने भइरहेको छ।’ नेपालले कांग्रेस र नेकपा माओवादी केन्द्रले नै केही समय मागेपछि आफूहरू रोकिएको बताए। उनले भने, ‘प्रधानमन्त्रीसँगको बैठकमा पनि यो विषयमा छलफल भएको छ।’

  • अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह